कविता – बा !

उत्सव चौलागाईँ
२०७७ भाद्र ३, बुधबार ०९:५४

बा ! म सानो छँदा
काँधमा चढाएर अग्लो बनाउनुहन्थ्यो
र निकै टाढासम्म हेर्नसक्नु पर्छ भन्नुहुन्थ्यो तपाईंले ।

तर
तपाईंको छातीमा खुट्टा बजार्थेँ म
तपाईंको कपाल दुख्ने गरी समाएपछि मात्र तपाईंभन्दा अग्लो भएको घमण्ड हुन्थ्यो मलाई
तैपनि मेरो मुहारमा खुसी देखेर
तपाईंले टाउकोबाट झर्दै गरेको कपाल
अनि छातीको दुखाइ कहिलै देखाउनुभएन ।

बा !
कपाल झरेर खुइलिदै गएको तपाईंको तालुमा
मेरो जिम्मेवारीको चर्को घामले
सधैँ तताइरह्यो ,
मैले भने सधैँ राप लिईरहेँ ।

बा !
मलाई थाहा छ
म सपनाको सहरमा
मस्तसँग निदाइरहेको बेला
तपाईं फुङ्ग रङ उडेको
उदासी अनुहार लिएर
गाउँमा हलो जोत्दै
रङ्गिन सपनाहरू बुनिरहनुभएको थियो ।

तपाईंभन्दा ढिलो बिउँझने घाम
आजभोलि मलाई
निद्रामै आएर जिस्काउने गर्छ
र भनिरहन्छ
ओइ मनुवा !
तँलाई बाले काँधमाथि चढाएर देखाएको सपना
सुतेर भेटिँदैन
निद्रामा देखिँदैन ।

आँखा मिच्दै सोच्छु
अनि प्रत्येक बिहान
घाम साक्षी राखेर भन्छु
भोलिबाट घामभन्दा चाँडै उठ्ने छु ।

बा !
यसरी मैले कयौँपटक ढाटेँ हुँला
घामसँग
तपाईंसँग
र आफैँसँग
तर तपाईंको आशिष भुलेको छैन
तपाईंको विश्वास कुल्चिएको छैन ।

बा !
मैले आत्मासँग पौठेजोरी
खेलेको छैन कहिल्यै ।

बा !
तपाईं आफैँ मैनबत्ती बनेर
जल्नु भएको छ
पग्लनु भएको छ
अनि
मलाई उज्यालोमा राखेर
तपाईंले कयौँ अँध्याराहरू भोग्नु भएको छ ।

त्यसकारण
म विचारको उज्यालोमा छु
बा !
तपाईंले काँधमाथि चढाएर गर्नुभएको
दूरदृष्टिको अपेक्षा बिर्सिएको छैन ।

हेटौँडा ६ चौघडा

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*