मिस, प्याड दिनु न !

कमला अधिकारी
२०७७ श्रावण १६,शुक्रबार १६:५२

कक्षा नौ, सुमी र शकुन्तलाको खासखुस चल्छ।

के भयो ? तिमीहरू किन हल्ला गरिराखेको ? पढाइराख्या छ, ध्यान छैनर ? खाली हल्ला मात्रै गरेका छन्, मिस रिसले चुर हुँदै हप्काउन थालिन्।

हैन के, सुमी बोल्न खोज्छे।

पर्दैन, नभन्, हेर है मैले भनैछु नि नभन् भनेर । भनिस् भने फेरि म बोल्दिन तँसँग कैले नि, सुमीले मिससँग केही बोल्न लाग्दा शकुन्तलाले आफ्नो हातले उसको मुख थुन्न खोज्छे।

केही हुन्न के, के हो तँ फेरि, त्यसै लाज मान्छे, सुमी शकुन्तलाको हात जोडले झड्कारेर पन्छाउँछे र भन्छे, मिस प्याड दिनु न। यसले माग्न सकिनँ अनि मैले माग्देको।

केटाहरू गलल्ल हाँस्छन्। भुँइतिर जोतिएको उसको अनुहारको रङ फेरिन्छ। ऊ कालो र निलो हुन्छे। मानौं उसले अक्षम्य गल्ती गरी। पछाडि बेञ्चका सबै केटी साथी आफ्ना हातले मुख छोपेर शिर निहुराए। मिस पनि अक्क न बक्क भइन्।

एकछिन आफैं लजाउँदै, तेस्रो तलामा जाऊ, त्यहाँ जुनु म्याडम हुनुहुन्छ, उहाँसँग प्याड माग्नूु भनेर रिया मिस विद्यार्थीको उपस्थिति जनाएर कक्षाबाट बाहिरिन्।

सुमी काठमाडौंको भौतिक पूर्वाधारयुक्त, सुविधा सम्पन्न विद्यालयमा पढेर भर्खर मात्र आफ्नो गाउँको विद्यालयमा भर्ना भएकी विद्यार्थी हुन् । विकास र सभ्यताले सम्पन्न परिवेशमा केही समय व्यतित गरेर गाउँ आएकी हुनाले उनीलाई महिनावारी सामान्य लाग्थ्यो। प्राकृतिक प्रक्रियालाई सहज मान्ने परिवार पनि थियो सुमीको।

शकुन्तला गाउँको सामान्य किसान परिवारमा जन्मिएकी। उनलाई महिनावारी भएका बेला विद्यालय जान निकै अप्ठ्यारो लाग्थ्यो। नलागोस् पनि कसरी ? विद्यालयमा न त राम्रो शौचालय नै थियो न त पानीको सुविधा।

भर्खरै मात्र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराइएको थियो। तर त्यसको सदुपयोग खासै भएको थिएन। कारण विद्यार्थीहरू आफूलाई आवश्यक परेका बेला लाजले माग्न सक्दैनथे।

शौचालयका भित्तामा रगतका टाटा देखिन्थे। धेरै छात्रा त महिनावारी भएका बेला विद्यालय नै अनुपस्थित हुन्थे। आइहाले पनि कतिले आपतमा कापीको पेज प्याडको रूपमा प्रयोग गर्थे त, कतिले झारपात नै। फोहोर यत्रतत्र फालिएको भेटिन्थ्यो। यसरी समस्या छताछुल्ल हुँदा पनि बेवास्ता गरिएको थियो।

शकुन्तलाले जसोतसो आफ्नो पढाइ निरन्तरता दिँदै गई । आफ्नो समस्या साथीलाई सुनाउन खोज्थी तर साथीहरू फरक स्वाभावका थिए। उसलाई कानेखुसी गर्दै छड्के आँखाले हेर्थे। उसको समस्या बुझिदिने एक जना साथी सुमी भई। ऊ यसका बारे खुलेर कुरा गर्न चाहन्थी तर उसको त्यस्तो खालको बानीलाई अरू साथीले नराम्रो दृष्टिले हेर्थे।

सुमी एक्लो बृहस्पति जस्ती थिई। नलजाउने, निडर स्वाभावलाई अपव्याख्या गरिएको थियो। यस्तै स्वाभावको कारण उसले ुलाज नभाकीु उपाधि पाएकी थिई।

एकदिनको कुरा हो। विद्यार्थीले आफ्नो स्वास्थ्य तथा शारीरिक विषय शिक्षकलाई खेल मैदान लान आग्रह गरे। पुस, माघको जाडो, त्यो पनि चार दिने हुस्सुपछि फारेको न्यानो मौसम थियो। विषय शिक्षकलाई पनि ठीकै लाग्यो। कक्षाका सबै विद्यार्थीलाई पुस्तक हातमा लिएर शिक्षक खेल मैदान जान तयार भए। विद्यार्थी खुसी हुँदै लाइनमा उभिए तर शकुन्तला बेञ्चमा निहुरी परेर बसिरही। शिक्षकले सोधपुछ गरे।

शकुन्तला तिमी नजाने ?

नाइँ सर मलाई पेट दुखेको छ । आराम गर्छु।

ल हुन्छ। तिमी आराम गर्नू । हामी गयौं।

शकुन्तला टाउको हल्लाउँदै बेञ्चमा आड लाएर बस्छे । उसको पहिलोपटक महिनावारी भएको थियो। ऊ निकै अत्तालिई। कसलाई भनूँ ? के गरूँ ? हुन थाल्यो।

अब सबै साथीहरूले जिस्काउँछन् होला, ऊ यस्तै यस्तै कुराले पिरोलिन थाली। भोलिपल्ट सबै जना कक्षामा उपस्थित भए, शकुन्तला आइन। ऊ बसेको बेञ्च पनि खाली थियो। बेञ्च फोहोर भएछ, कक्षा शिक्षिकाले सफाइ कर्मचारीलाई बोलाएर बेञ्च सफा गर्न लगाइन् ।

नौ दिनपछि शकुन्तला स्कुल गई। ऊ यसै पनि लाजले शिर निहुराइराखेकी थिई।

मिसले किन यति दिन गयल भएकी ? वार्षिक परीक्षा नजिकिँदै छ । धेरै पाठ छुटे। साथीको नोट मागेर पूरा गर्र्नू भनिन् ।

बल्ल ऊ केही ठाडो शिर गरेर किताब पल्टाउन थाली । शकुन्तला ब्राह्मण समुदायकी छोरी थिई, धार्मिक परिवार थियो। उसलाई पहिलो महिनावारीमै नौ दिन अँध्यारो अनि घामको किरण पनि नछिर्ने अलग्गै कोठामा राखिएको थियो। न दूध खान दिइन्थ्यो न हावा आवतजावत गर्ने कोठा थियो। चिसो कोठा, परालको डसना र पातलो तन्नामा गुजुल्टिएर उसको नौ रात कटेको थियो ।

उसलाई आफूले भोगिरहेको कष्ट भन्दा नि आफू महिनावारी भएको कुरा कसैले थाहा पाउँछ कि भन्ने चिन्ता ठूलो थियो। तर उसकी साथी सुमीले उसको समस्या नजिकैबाट नियालिरहेकी थिई ।

शकुन्तलाले आफ्नो कुरा नभने पनि सुमी यसबारे जानकार थिई।

सुमी नजिकै गई र विस्तारै भनी, शकुन्तला, मलाई तिम्रो सबै कुरा थाहा छ । मलाई पनि पहिलो पटक महिनावारी हुँदा लाज लागेको थियो। तर मेरा आमाबुवा र स्कुलका शिक्षकले सम्झाएपछि सामान्य लाग्न थाल्यो। तिमी यति धेरै चिन्ता नलिऊ। सुरूमा कठिन भए पनि पछि यो प्रक्रिया सामान्य बन्दै जान्छ, जसरी पनि हामीले यसलाई भोग्नुपर्छ। यो कुरो न टारेर टर्छ न सारेर सर्छ। यसको सामना गर्ने सबैभन्दा उत्तम उपाय भनेकै हामीले यसलाई स्वाभाविक प्रक्रियाका रूपमा लिनु हो।

साथीबाट यत्तिको ढाडस पाएपछि शकुन्तलाको अनुहारको रङ फेरियो।

सुमीले फेरि थपी, पछि अरू साथीहरूलाई पनि यस्तो समस्या पर्न सक्छ । त्यो बेलामा तिमी र म मिलेर सहयोग गर्नुपर्छ।

पाठ्य विषयवस्तु रजस्वला चक्र थियो। मिसको अनुहारबाट थाहा हुन्थ्यो, उनी अरू दिनभन्दा हतोत्साही छन् । कक्षामा केटाहरूको एक उच्छृंखल समूह थियो । अरु बेला पढाइमा खास चासो नदिने त्यो समूह, त्यो दिन निकै उत्साहित भएर प्रश्नमाथि प्रतिप्रश्न गरिरहेको थियो ।

केटी विद्यार्थीहरू भने शिर निहुराएर बसेका थिए। कोही अनुहार रातो बनाएर लजाएका थिए । सुमी भने उत्साहित भएर सुनिरहेकी थिई । कक्षामा पढाउँदा पढाउँदै केटाहरूबाट पाठको प्रसंगभन्दा बाहिरका प्रश्नहरुको ओइरो लाग्न थाल्यो। मिस अत्तालिन थालिन्।

आजलाई यत्ति नै। बाँकी भोलि है, भन्दै मिसले आफ्ना शैक्षिक सामग्री बटुलेर बाहिर निस्कने हतारो गरिन् ।

त्यही बेला सुमीले सोधी, मिस, हाम्रो स्कुलमा स्यानिटरी प्याड उपलब्ध छ कि छैन ? छ भने किन कसैले महिनावारी हुँदा नमागेकार ? त्यस्तै खालको समस्या पर्दा कसलाई भन्ने हो हामीले ?

सुमीको यो प्रश्नले मिस झनै लजाउँदै कक्षाबाट बाहिर निस्किइन्।

विद्यालयहरूमा सरकारले प्याड वितरण गरेको कुरा विभिन्न सञ्चारमाध्यमबाट बारम्बार सुनेकी सुमीलाई साथीहरू यसको प्रयोगबाट बञ्चित देख्दा अनौठो लागेको थियो । हुन त विद्यालयले यसबारे सम्पूर्ण विद्यार्थी र शिक्षकलाई जानकारी नदिएको होइन। तर यहाँनेर एउटा कुराको अभाव खड्किएको अवश्य हो, त्यो के भने छात्रा विद्यार्थीलाई निर्धक्क साथ मलाई प्याड दिनु नु भन्न सक्ने वातावरण बनाउन विद्यालयले सकेको थिएन ।

विद्यालयमा ल्याइएका ती सामग्री गोदाममै थन्किँदा मिति काटिसकेका थिए। यता विद्यार्थीले त्यो सामग्री माग्न सकेका थिएनन् । त्यस्तो बेलामा उनीहरू विद्यालय आउनै छोडेका थिए। यहाँ समन्वयको खाँचो टड्कारो देखिएको थियो ।

भोलिपल्ट मिसलाई रजस्वला सम्बन्धी बाँकी पाठ पढाउन निकै अप्ठ्यारो लागेछ क्यार, विज्ञान सरलाई पढाइदिन भनिन् । सरले त्यसबारेमा विद्यार्थीले बुझ्ने भाषामा निर्धक्क साथ बताइदिए ।

विद्यालयमा यौन शिक्षा अलग्गै र अनिवार्य विषय हुनुपर्छ भनेर सरोकारवालाको बहस चलिरहँदा कक्षाकोठामा हामीले यस्तै देख्ने भोगेका छौं, यो विषय कतिसम्म गौण बनेको छ भन्ने बुझेका छौं।

विद्यार्थी त के शिक्षक नै यसबारे खुलेर बहस गर्न रूचाउँदैनन् । कुनै विषयको पाठ्यांशका रुपमा यसलाई समावेश गरिएको भए पनि पढाउँदै जाँदा अधिकांश शिक्षकले त्यस्तो पाठलाई छोडिदिएको साक्षी हामी नै छौं । त्यसको प्रत्यक्ष मारमा विशेषगरी किशोरीहरू परेका छन् ।

आफ्ना नागरिकको स्वास्थ्य ध्यानमा राखेर राज्यले देशैभर स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी तथा सरकारी अस्पतालमार्फत गर्भनिरोधका साधनहरु निःशुल्क वितरण गरेको छ। गर्भवतीको सुरक्षा, सुरक्षित मातृत्व तथा शिशु स्याहार र महिलाको सशक्तिकरणका लागि गोष्ठी तथा कार्यशाला पनि सञ्चालनमा ल्याइएको कुरा सुन्दै अनि देख्दै आएका छौं। मान्छेको जन्म हुन प्रकृतिले सिर्जना गरेको पहिलो खुड्किलो महिनावारीलाई किन महत्वका साथ सम्बोधन गरिएनरु

स्वास्थ्य संस्थामार्फत गर्भनिरोधक साधन निःशुल्क वितरण गर्न सक्दा स्यानिटरी प्याडलाई झनै शुल्क तिर्नुपर्ने प्रावधान अलि नमिल्दो भएन ररु

माथिको घटनाकी मिसजस्ता हामी धेरै शिक्षक शिक्षिका छौं यो विषयवस्तुप्रति आफ्ना विद्यार्थीसमक्ष खुलेर व्यक्त हुन सक्दैनौं। किनकी हामी त्यही परिवेशबाट आएका हौं। पसले पुरुषसँग प्याड माग्न अझै पनि अप्ठ्यारो लागेकै छ हामीलाई। तर यो महत्वपूर्ण चरणलाई सहज रुपमा लिन सक्ने बनाउन शिक्षक, अभिभावक तथा विद्यार्थी समक्ष विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्छ।

उनीहरूलाई प्याड माग्न सक्ने बनाउन पहिला हामी उनीहरूका लागि सहज बनिदिनुपर्छ। सरकारले अचेल हरेक विद्यालयलाई स्यानिटरी प्याड वितरण गरेको छ, चेतना अभावले ती प्याडको दुरुपयोग नहोस्। सहजीकरण तालिम गरी छात्राहरूलाई ‘मिस मलाई प्याड दिनुस् न’ भन्न सक्ने बनायौं भने मात्र प्याड प्रयोगमा आउलान्। अन्यथा स्वयम् शिक्षक शिक्षिकाले नै अप्ठ्यारो मान्ने परिस्थितिमा ती सुरूआती अवस्थामा रहेका हाम्रा कलिला नानीहरूले आफ्नो समस्या कसरी बताउलान्रु

यसबाहेक विद्यालयमा शौचालय, साबुन पानी र स्यानिटरी प्याड, डिस्पोजल पिट अत्यन्तै आवश्यक देखिन्छ । विशेषगरी ग्रामिण भेगका विद्यालयका छात्राहरू यस्तो समस्याबाट बढी पीडित छन् ।

सामान्य कपडाको भरमा विद्यालय उपस्थित हुँदा बाहिर देखिने त्रासका कारण उनीहरू निराश बन्नुपर्ने स्थिति छ । उनीहरूमा मनोवैज्ञानिक असर समेत परिरहेको हुन्छ । महिनावारीपछि धेरै दिन विद्यालय अनुपस्थित रहँदा पढाइमा प्रभाव परेको छ। उनीहरूलाई सहजीकरण गरेर विद्यालयमा प्याड, साबुनपानी व्यवस्था भयो भने अनुपस्थिति दर कम हुन्छ।

हामीले हरेक कामको रुपरेखा तय गर्दा पहिलो द्वार नै बेवास्ता गरियो भने अन्तिम द्वार कच्चा बनिदिन्छ। हाम्रो देशको शासन व्यवस्थाले यस्ता मसिना कुरा नियाल्ने प्रयत्न गरोस्, यसैमा हाम्रो समुन्नत हुनेछ।

लेखक कमला अधिकारी श्री बालसिद्ध मा.वि., स्याङ्जामा शिक्षक छिन्।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*