नेकपामा केन्द्रीय कमिटी बैठक माग, विवाद अवतरणको अन्योल कायमै
काठमाडौँ । सचिवालय र स्थायी कमिटीमा शीर्ष नेताहरूको विवाद उत्कर्षमा पुगेपछि नेकपाका १ सय ५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टी कार्यालयमा पत्र बुझाएका छन् । पत्र बुझाउनेमा अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालनिकट केन्द्रीय सदस्यहरू छन् । पार्टीमा उठेका विषयलाई सचिवालय र स्थायी कमिटीले पार लगाउन नसकेको भन्दै उनीहरूले केन्द्रीय कमिटीबाट छिनोफानो गर्नुपर्ने माग गरेका हुन् ।
उनीहरूले पार्टी एकता नै भत्किने गरी समस्या बढेकाले त्यसलाई जोगाउनका लागि केन्द्रीय कमिटी बैठक आवश्यक परेको उल्लेख गरेका छन् ।
‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई एकताबद्ध र झनै सुदृढ बनाएर लैजानुपर्ने वर्तमान परिस्थितिमा पार्टीभित्रको विवादले हामी केन्द्रीय सदस्यहरूलाई चिन्तित बनाएको छ, हाल देखिएका सबै विवाद र समस्याको समाधान पार्टी बैठकमा गहन छलफल गरी विधि–पद्धतिबमोजिम समाधान गरिनुपर्छ भन्ने हाम्रो ठहर छ,’ अध्यक्षद्वयलाई सम्बोधन गर्दै पार्टी कार्यालयमा दर्ता गरिएको पत्रमा उल्लेख छ, ‘यसर्थ पार्टी विधानको धारा ५९ (क) ४ बमोजिम यथाशीघ्र केन्द्रीय कमिटी बैठक बोलाइयोस् ।’
पार्टीको अन्तरिम विधानको धारा ५९ (क) ४ मा एक चौथाइ केन्द्रीय सदस्यले औपचारिक रूपमा माग गरेमा ३० दिनभित्र बैठक आयोजना गर्नुपर्ने प्रावधान छ । हाल नेकपामा ४ सय ४४ केन्द्रीय सदस्य छन् । एक चौथाइका लागि १ सय ११ केन्द्रीय सदस्य चाहिन्छ । पार्टी कार्यालय धुम्बाराहीमा पत्र दर्ता गराउन झन्डै ४० जना केन्द्रीय सदस्य पुगेका थिए । त्यसपछि पार्टीमा बुझाएको आधिकारिक पत्रको प्रतिलिपि बोकेर झन्डै १० जना केन्द्रीय सदस्य अध्यक्ष दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।
अध्यक्ष दाहाललाई उनीहरूले विधानको व्यवस्थाअनुसार केन्द्रीय कमिटी बैठक बोलाउन ध्यानाकर्षण गराएका छन् । केन्द्रीय सदस्यहरूले अब सचिवालय र स्थायी कमिटीबाट समस्या समाधान नहुने भएकाले केन्द्रीय बैठक आवश्यक रहेको धारणा राखेपछि अध्यक्ष दाहालले उनीहरूको प्रयासलाई सही भन्दै ढाडस दिएका थिए । ‘पार्टी एकता हुनुपर्छ भन्ने माग राखेर यो परिस्थितिमा तपाईंहरूले थालेको पहलकदमी राम्रो छ, यसले सकारात्मक योगदान हुन्छ भन्ने ठानेको छु,’ उनले केन्द्रीय सदस्यहरूसँग भने ।
‘तपाईंहरूले सबै परिस्थिति देख्नुभएकै छ । अब एकता कायम राख्न मिलेर प्रयत्न गर्नुपर्छ,’ उनले भने । अध्यक्ष दाहालसँग बुधबारै भेटे पनि उनीहरूले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भने भेटेका छैनन् । ओलीसँग समय मागिएको र बिहीबार भेट्ने सम्भावना रहेको पत्र बुझाउनेमध्येका केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए । ‘स्थायी कमिटी बैठकमा नेताहरू नै सहभागी नहुने स्थिति विकास भएको छ, त्यसमा पार्टी पंक्ति चिन्तित छ,’ गैरेले भने, ‘समाधानको उपाय अब केन्द्रीय कमिटीबाट खोज्नुपर्छ ।’
सचिवालयमा चर्किएको विवाद स्थायी कमिटीमा आइपुगेपछि नेकपा झन् संकटमा पर्दै गइरहेको छ । बुधबार पत्र बुझाउने समूहकै नेताहरूले यसअघि एकता बचाउन भन्दै पार्टी कार्यालयमा धर्ना दिएका थिए । विवाद केही मत्थर हुने भएपछि सेलाएका उनीहरू मंगलबारको स्थायी कमिटीमा अप्रिय स्थिति सिर्जना भएपछि अब केन्द्रीय कमिटीकै बैठक आवश्यक पर्छ भन्ने निचोडमा पुगेका हुन् । ‘प्रमुख नेताहरूले नै मिलाएर पार्टीलाई अघि बढाउने आशा थियो तर सचिवालय र स्थायी कमिटी पनि अकर्मण्य बने,’ केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले भने, ‘त्यसैले महाधिवेशनपछिको सबैभन्दा ठूलो र वैधानिक निकाय केन्द्रीय कमिटी हो, अब यहींबाट समाधान हुनुपर्छ ।’
नेकपाको विधानअनुसार सचिवालयदेखि स्थायी कमिटीले गर्ने सबै निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन गराउनुपर्छ । त्यसैले सचिवालय र स्थायी कमिटीले कुनै निर्णय लिन नसकेका बेला केन्द्रीय कमिटीबाट निर्णय गरेर जानुपर्ने उनीहरूको तर्क छ । पार्टी एकतापछि दुई पटक मात्रै केन्द्रीय कमिटी बैठक बसेको छ । पहिलो बैठक पार्टी दर्ता प्रयोजनका लागि हस्ताक्षर बुझाउन बसेको थियो । गत माघमा भएको दोस्रो बैठकमा पार्टीभित्रका समस्या र तत्कालीन रूपमा उठेको अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौताबारे बहस भएको थियो । अहिले पार्टीभित्र शीर्ष नेताहरूबीच चुलिएको व्यक्तिको टकराव र विधि–पद्धतिअनुसार अघि बढाउने सवालको व्यवस्थापन गर्ने गरी केन्द्रीय कमिटी बैठक आवश्यक परेको नेताहरूको धारणा छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
