महाभारत युद्धमा नेपालका पात्र

सञ्जय मित्र
२०७७ असार ८,सोमबार १३:२०

महाभारतलाई कतिपयले महाकाव्य मान्दछन् । यदि यसलाई महाकाव्य मात्र मान्ने हो भने यसको इतिहाससित कुनै सम्बन्ध हुँदैन ।

महाभारतलाई इतिहास मान्नेहरु पनि छन् । यस कृतिलाई इतिहास मानेर पनि साहित्यको भाषामा लेखिएको इतिहास मान्दछन् ।

यस कृतिलाई इतिहास मान्नेहरुले के तर्क दिन्छन् भने जुन समयमा यो कृतिको रचना भयो, त्यस समयमा पुस्तकहरुको रचना छन्दमा नै गर्ने चलन थियो । छन्दमा नै विद्वानहरुले आफ्ना अभिव्यक्तिलाई सुरक्षित राख्दथे ।

इतिहासको घटनालाई कविले आफ्नो क्षमताले अत्यन्त कलात्मक किसिमले प्रस्तुत गरेका छन् भनेर पनि महाभारतको विषयमा भन्ने गरिन्छ ।

मार्गशीर्ष (मङ्सिर) महिनाको शुक्ल १४ (चतुर्दशी वा पूर्णिमाभन्दा एक दिनपहिले) महाभारत युद्ध सुरु भएको थियो भन्ने तथ्य पनि पाइन्छ । यो युद्ध अठार दिनसम्म चलेको थियो ।

महाभारत युद्धलाई इतिहासको दृष्टिले विचार गरेर कहिलेकाहीँ यस युद्धमा नेपालको पनि सहभागिता रहेको चर्चा चल्दछ, कतै कतै पढ्न पनि पाइन्छ ।

हुन त त्यत्तिवेला नेपाल भन्नाले वर्तमान काठमाडौँ उपत्यकालाई मात्र जनाउँदथ्यो होला ? यसवेलाको इतिहास त्यत्ति प्रकाशमय पाइँदैन ।

महाभारत युद्ध हुँदा नेपा (सम्भवतः नेपाल) को राजा यलम्बर थिए । उनी किराँतका सरदार थिए । प्रथम किराँती राजा थिए ।

उनले महाभारतमा कौरवको पक्षबाट युद्ध लड्न गएका थिए । यलम्बरलाई कृष्णले मारेका थिए भन्ने उल्लेख पाइन्छ ।

यलम्बरलाई आकाश भैरवको रुपमा पूजा काठमाडौँमा पूजा गरिन्छ भन्ने उल्लेख पनि पाइन्छ । युद्ध सकिएपछि यलम्बरको टाउको आकाशमार्ग भएर काठमाडौँ आएको र आकाश भैरवको रुपमा पूजा हुन सुरु भएको किंवदन्ती पाइन्छ ।

धेरै पहिले मैले कता हो कुन्नि यो पनि पढेको थिएँ कि यलम्बरले पाण्डवको पक्षबाट युद्ध लडेका थिए । मैले कहाँ पढेको वा सुनेको थिएँ, अहिले सम्झना भएन ।

महाभारत युद्ध हुँदा नेपालमा किराँतहरुको राज्य थियो भन्ने अर्को पनि प्रमाण पाइन्छ ।

अहिले पनि मूल रुपमा किराँत क्षेत्र भनेर चिनिएको कोसीको आसपासको पहाडी क्षेत्रको किराँती राजा हुमति थिए । किराँती राजा हुमतिले महाभारत युद्धमा कौरवहरुको साथ दिएका थिए ।

उनी आफ्ना सेनासहित पाण्डवहरुको विपक्षमा युद्ध लगेका थिए । राजा हुमतिको विषयमा खासै थप जानकारी पाइन्न ।

तर यदि राजा नै गएका थिए भने उनका सेना पनि गएका थिए । यसरी संख्याको हिसाबले ठूलै हुनुपर्दछ ।

महाभारत युद्धको समयमा कपिलवस्तुको शाक्यवंशको स्थापना भएको र राज्य संचालनमा रहेको पनि संकेत पाइन्छ तर स्पष्ट पाइन्न । यसबारे पनि खोज हुनु आवश्यक छ ।

महाभारतमा विराट नरेशको प्रसंग खूब सम्मानका साथ आउँछ । विराट राजा, राजा विराट, विराट नरेश आदि नाम त महाभारतमा खूब आउँछ । उनको राज्यको नाम विराट थियो र राजधानी विराटनगर थियो कि ? विराटनगर मुख्य केन्द्र भएको राज्यका राजा थिए कि ? विराटनगरको स्थापना पो गरेका थिए कि ? आफ्नै नाउँमा नगर बसालेर राजा भएका थिए कि ? कि उनको प्रसिद्धले उनी निवास गर्ने ठाउँकै नाम परिवर्तन भएको थियो ? वास्तविक नाम त सितिमिति पाइन्न तर लोकजीवनमा भने राजा विराट नै भन्ने गरिन्छ । उनको प्रतिभा विराट थियो, उनको प्रशंसा विराट थियो, उनको राज्य विराट थियो, उनको सम्पत्ति विराट थियो, उनको उदारता विराट थियो वा नाम नै विराट थियो ? वा विराटतासँग सम्बन्धित कुनै मुख्य उपलब्धि थियो ?

नाम जे भए पनि विराट नरेश आफ्नो सम्पूर्ण शक्ति लगाएर युद्धमा पाण्डवका साथ दिएका थिए । छोरो उत्तर र आफू दुवै जना विराट युद्धमा मारिएका थिए । विराट नरेशको छारो उत्तर आफैँमा पनि शक्तिशाली वीर मानिन्छन् ।

तर युद्धमा पहिलो दिन नै उत्तरले वीरगति प्राप्त गर्दछन् । युद्धको चौधौं दिनमा राजा विराट पनि वीरगति प्राप्त गर्दछन् । द्रोणाचार्यसँगको युद्धमा राजा विराटले वीरगति प्राप्त गरेको उल्लेख पाइन्छ ।

पाण्डवहरु अज्ञातवासको समयमा विराटकहाँ नै भेष बदलेर बसेका थिए । एक वर्षसम्म चिन्दैनन् तर अन्त्यमा कौरवहरुसितको युद्धमा अर्जुनको सहयोगले छोरो उत्तरले विजय प्राप्त गरेपछि केही दिनमा भेद खुलेको थियो ।

महाभारत युद्धका अर्का एक महत्वपूर्ण पात्र हुन् – घटोत्कच । हात्तीको जस्तो टाउको भएको र कपाल नभएको अवस्थाले गर्दा नै उनको नाम घटोत्कच राखिएको हुन सक्छ । घटोत्कचको जन्म भीम र हिडिम्बाबाट भएको थियो । यही हिडिम्बाको नामबाट हेटौँडा बस्ती (हाल बागमती प्रदेशको राजधानी सहर) बसेको किंवदन्ती पाइन्छ । हिडिम्बा राक्षस जातकी युवती थिइन् ।

घटोत्कचको भूमिका महाभारतमा अद्वितीय छ । उनको महत्व यसैबाट बुझ्न सकिन्छ कि कौरव पक्षलाई उनले हराउनै लागेका थिए तर अर्जुनबधका लागि कर्णले जोगाएर राखेको इन्द्रास्त्र (इन्द्रद्वारा प्रदत्त दिव्यास्त्र) को प्रयोग उनैमाथि गर्नु परेको थियो । दिव्यास्त्र लागेर भूइँमा ढल्न लाग्दा उनका पिता भीमले आफूहरुतिर नाइँ शत्रु पक्षतिर ढल भनेर आग्रह गरेका थिए । घटोत्कच भूइँमा ढल्दामात्र उनको शरीरले थिचिएर कैयौँ योद्धा मरेका थिए ।

घटोत्कचको छोराको नाम बर्बरिक थियो । बर्बरिकको जन्म घटोत्कच र अहिल्यावतीको संयोगबाट भएको थियो । कतै कतै बर्बरिकको आमाको नाम कामकंटका रहेको पनि पाइन्छ । मौरवी र घटोत्कचको पुत्रको रुपमा पनि बर्बरिकको परिचय पाइन्छ । दैत्य जातिका मूरकी छोरीको नाम मौरवी भएको उल्लेख पाइन्छ । मूर चाहिँ प्रागज्योतिषपुर (वर्तमान आसाम) का प्रसिद्ध दैत्य थिए ।

बर्बरिक पनि महान योद्धा भएको उल्लेख पाइन्छ । बर्बरिकको टाउकोलाई पूजा गरिने ठाउँ वर्तमान राजस्थानको सिकर जिल्लामा रहेको छ । आजभोलि कतिपयले यस ठाउँलाई खाटूधाम पनि भन्ने गरेका छन् ।

यहाँ अलिकति शंकाको पक्ष के रहेको छ भने पाण्डवहरु बार वर्ष वनवास र एक वर्ष अज्ञातवास गरी तेर वर्ष बसेका थिए । अज्ञातवास सकिएको कति समयपछि महाभारत युद्ध भयो भन्ने कुरो पनि एउटा पक्ष हो ।

वनबासमा रहेको बखत हिडिम्बासित भेट भएको थियो र घटोत्कचको जन्म भएको थियो । महाभारत युद्धको समयमा घटोत्कचको पनि छोरो पनि युद्ध गर्न लायक भइसकेको थियो ।

घटोत्कचको जन्म र महाभारत युद्धको बीचमा कति वर्षको अन्तराल देखिन्छ ? यही विषयलाई अलिकति खुल्दुली लागिरहन्छ ।

यलम्बर, हुमति र विराट त राजा नै भइहाले महाभारत युद्धमा । घटोत्कचको बासस्थान पनि चुरे र महाभारतकै बीचको क्षेत्र हुनुपर्छ किनभने घटोत्कचको विवाह अझ पूर्वतिर भएको देखिन्छ । यसले बर्बरिकलाई पनि यतैको मान्न सकिन्छ ।
घटोत्कच महाभारतमा एक्लै गए कि साथीहरुलाई लिएर ? यदि साथीहरुलाई लिएर गएका छन् भने महाभारतमा दैत्य जातिको पनि पाण्डवको पक्षबाट योगदान साबित हुन्छ । बर्बरिक त एक्लै गएको उल्लेख पाइन्छ तर यलम्बर, हुमति र विराट तरी तीन राजाहरुले महाभारत युद्धमा आफ्ना सेनासहित गएका थिए । राजाहरु कहिल्यै पनि एक्लै युद्ध गर्दैनथे ।

यसबाट यो अनुमान हुन्छ कि महाभारत युद्धमा नेपालका कैयौँ पात्रहरुले कौरव र पाण्डव दुवै पक्षबाट युद्ध लडेका थिए ।
पश्चिम नेपालका तत्कालीन क्षेत्र वा राज्यहरुबाट पनि महाभारत युद्धमा भएको सहभागिताबारे खोजी हुनु आवश्यक छ । वा, भएको भए हाम्रो परिवेशमा पनि जानकारी आवश्यक देखिएको छ ।

(कतिपय ठाउँमा यो पनि उल्लेख भएको पाइन्छ कि विराट नरेशको दरबार रहेको विराटनगर भारतमै छ । राजस्थानमा विराटनगर भन्ने एउटा बस्ती छ । विराटनगर नामका अन्य बस्तीहरु पनि पाइन्छन् ।

उसो त हिडिम्बाको वनप्रान्त पनि भारतमा रहेको उल्लेख कतै कतै पाइन्छ तर नेपालमा भने जे जस्ता किंवदन्तीहरु र त्यसकैका आधारमा साक्ष्यहरु दिइन्छन्, तिनैलाई यहाँ आधार मानिएको हो ।)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*