कोभिड -१९ को परिणतिको सामाजिक सेरोफेरो

काशीनाथ खनाल
२०७७ बैशाख १७, बुधबार १६:२६

“बाह्र बर्ष रामायण पढ्यो सीता कसकि जोइ ?” “बाह्र बर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्यो बाङ्गाको बाङ्गै !” जस्ता सामाजिक उखानहरू त्यसै बनेका होइनन् । यसबाट यो बुझिन्छ कि सधैं बद्लिरहने चीजको नाम हो समाज र कहिल्यै नबद्लिने वा बद्लिन नचाहने वस्तु हो मानिस । इतिहास भर यही मानव र समाज बिचको द्वन्द्वले समाजमा बदलाव आएको छ । अझै भनौ मानिस पनि आफूलाई बदल्न बाध्य भएको छ । यसबाट यो बुझिन्छ कि मान्छे बाध्यताबस मात्र बदलिने हो ।इतिहास यो कुराको राम्रो  हेक्का राख्छ ।  महामारी र प्रलयहरूका प्राकृतिक, दार्शनिक र धार्मिक कारणहरू अनेक होलान् तर यसले सामाजिक सम्बन्ध र संरचनामा  पनि परिवर्तन व्यापक परिवर्तन ल्याउन मद्दत गरेको तथ्य यसअघिका महामारीहरूले सिकाएको पाठबाट थाहा पाउन सकिन्छ । यसैले अहिलेको कोरोना महामारीलाई पनि परिवर्तनको चस्मा लगाएर हेर्नेहरूको लर्को पनि निकै लामो देखिन्छ ।

उन्नाइसौं शताब्दीका महान सामाजिक चिन्तक कार्ल मार्क्सले भनेका थिए, इतिहास बनाउने मानवले नै हो तर मानिस गाँस र बाँस को जोहो गर्नमै व्यस्त छ। मानिससँग सम्भावनाको त्यो अथाह भण्डार छ । बनाउने वा भत्काउने जेसुकै कुराहरू हुन् मानिसमै केन्द्रित भएर साकार वा वस्तुगत हुने हो तर मानिसलाई त्यो गर्न लगाउने शक्ति पनि अचम्मकै छ । हामीले एक्काइसौं शताब्दीको पाँचआना जति बर्ष बिताइरहँदा कोभिड-१९ त्यो शक्तिका साथ उदायो र सबै भन्दा शक्तिशाली हूँ भन्नेलाई नै मर्ममा प्रहार गरी नराम्ररी घाइने बनाइदियो र अझै बनाउने क्रम जारी नै छ ।  त्यसैले नै हुनसक्छ आज कतिपय विद्वानहरू यससँगको लडाइँमा सहज विजय हासिल गर्नेहरू आउने विश्वको नेतृत्व गर्न लायक र यो सँग राम्ररी लड्न नसक्नेहरू वा भनौं यससँगको लडाइँमा धरमराउनेहरू आउने विश्वको नेतृत्व गर्न असक्षम हुने अंकगणितीय जोड घटाउ गरिरहेका छन् । यसले सामाजिक सम्बन्धमा मात्र होइन विश्व सम्बन्धमा नै भने व्यापक हेरफेर ल्याउने निश्चित भैसकेको छ ।

फ्रान्सेस फक्स र रिचार्ड क्लोवार्ड भन्छन् कि सामजिक सम्बन्धहरू दुई तरिकाहरूबाट गाँसिएका हुन्छन् ।  एक, साझा उद्देश्यहरू पूरा गर्नतिर लक्ष्यित सहकार्यबाट र दोस्रो, व्यक्तिगत र सामाजिक लक्ष्यहरू फरक हुँदा निम्तिने द्वन्द्वबाट (अ ह्याण्डबुक अफ पोलिटिकल सोसियोलोजी) । यसरी प्रत्येक सामाजिक सम्बन्धमा विभाजन रेखा हुन्छ । जुन विभाजन रेखाले एक मानिसलाई अर्को मानिसबाट विभाजन गरेको हुन्छ । कोभिड-१९ को विश्वव्यापी महामारीसँग लड्नु विश्वका सबै देशहरूको साझा लक्ष्य थियो र आपसी सहकार्यले विजयको लक्ष्य प्राप्तीलाई सहज बनाइदिन्थ्यो । कमसेकम सात दशक भन्दा बढी समयदेखी संयुक्त राष्ट्रसंघको छातामुनी रहने अभ्यास गरिरहेका देशहरूले त्यो प्रयाश गर्न सक्थे  तर यो लडाइँमा समेत विश्वका शक्तिका खेलाडिहरूले साझा लक्ष्य तय गर्न र सहकार्य गर्न सकेनन् । त्यहाँ विभाजनका रेखाहरू स्पष्ट देखिए । क्षेत्रीय सहयोग संगठन भित्रका आर्थिक सामाजिक साझेदार राष्ट्रहरूका बिचमा पनि आपसी सहयोगको त्यो अभ्यास देखिएन ।  यसले हामी एकै हौं भन्ने मित्रहरू पनि विभाजित नै हुन्छन् भन्ने देखाएको छ । यो कुरा नेपालको तात्तातो राजनीतिक सरगर्मी र सामाजिक खबरहरूबाट पनि पुष्टि भइ नै राखेको छ । वास्तवमा एक भएको कोही हुन्न, एकतामा पनि विभाजनको रेखा हुन्छ । हाम्रो समाजमा पनि धनी र गरीब, विकसित र अल्पविकसित वा अविकसित, पूर्वीय र पश्चिमा, समाजवादी चिन्तक र पूँजीवादी चिन्तक, शिक्षित र अशिक्षित, यो धार्मिक झुण्डको र त्यो धार्मिक झुण्डको जस्ता विभाजनका नामबाट यो विश्वव्यापी समाज पनि अछुतो बस्न सकेन । अरू त अरू नै भए हामी विश्व मानवता एकै परिवार हौं भन्ने समूहहरू बिचमा पनि दयनीय विभाजन छ ।  विश्व बदल्ने अभिलाषा र सपना बोकेर बिजाङ्कुरण भएका सामाजिक इन्स्टिच्युसनहरूलाई धमिराहरू जस्तै त्यही भित्र पसेर विक्रित बनाउनेहरू पनि यहाँ छन् ।

भनिन्छ कि आफूलाई बदल्न सक्षम मानिस नयाँ भविष्यको कुरा गर्छ र बदल्न नसक्ने मानिस इतिहासको गौरवगाथा गाउँदै बस्छ । हाल विश्वमहामारीको रूप धारण गरेको कोभिड-१९ का विरूद्ध कुनै औषधीको विकास नभइसकेकोले त्यसको रोकथामबाट बच्न भन्दै नेपालमा पनि लकडाउन वा बन्दाबन्दी गरेको ३७ दिन भयो । त्यस बिचमा तीन पटक सम्म त्यसलाई लम्ब्याउने काम सरकारबाट भएको छ । लकडाउनलाई क्षेत्र विशेष रूपमा छुट्याएर आवश्यक प्रदेश र स्थानीय क्षेत्र विशेष रूपमा, सृजनशिल तरिकाबाट प्रयोग गरिएको छैन बरू एक कर्मकाण्डी पुरेतले कर्मकाण्डको पाठ भट्भट्याएको जस्तो एकोहोरो किसिमको छ, जसको अर्थ न उसले बुझेको छ न अरूले । बन्दाबन्दीको बेलामा बाहिर हिंड्ने मान्छे निर्बाध रूपमा हिंडेका भेटिन्छन् । पावर वा शक्ति र पहुँचको आधारमा अनुमती पास बनाएर हनिमुन यात्रा गर्नेको यहाँ कमी छैन । अरू त अरू केन्द्रीय सरकार लकडाउन लम्ब्याइरको छ, राजधानी लगायत अरू ठूला सहरमा आफ्ना नागरिक अलपत्र परेको भनेर उनीहरूकै कार्यकर्ता एवं स्थानीय तहका प्रतिनिधिहरूले भोटनाता विशेषका आधारमा आफैं ओसारीराखेका छन् । सरकारका पक्ष र विपक्षका राजनीतिक कार्यकर्ताहरूको जुलुस र नाराबाजीहरू पनि बजारमा बन्द भएको देखिएन । न त सीमा पारिबाट हुने अनधिकृत प्रवेशलाई सरकारले प्रभावकारी ढंगले नियन्त्रण नै गर्न सकेको छ । सरकारले घोषणा गरेको लकडाउनले उसैलाई पङ्गु बनाइराखेको छ । हालै मात्र पनि वैशाख ४ र ५ गते दिल्लीबाट नेपाल भित्रिएका भनेका दुई जना व्यक्तिमा कोभिड-१९ पुष्टि भएको छ । हामी भने चैत्र ११ गतेदेखि लकडाउनमा छौं ।

मनिस सधैं नयाँ भविष्यको कल्पना वा आसमा बाँचिरहेको हुन्छ । विशेषतः दुःखपूर्ण जीनव व्यतित गरिरहेको संसारका असी प्रतिशत भन्दा बढी मानिसहरूको बाँच्ने आसा भविष्यमा सबै राम्रो हुन्छ, सबै नराम्रो कुराहरूको अन्त्य हुन्रछ भन्ने नै हो । शायद भोलिको राम्रो पक्ष भनेको नै यही त हो, होइन भने भोलिलाई कतै राम्रो मानिन्न । नयाँ भविश्य हाम्रै हातमा छ । नयाँ भविष्यका लागि बद्लिनु पर्ने कुराहरू पनि हामी मानिस भित्र नै छन् । मनिसका मानसिकताहरू, जीवनशैलीहरू, जीवनदर्शन, आदि । जसले सामाजिक सम्बन्धहरू, शैक्षिक प्रणाली, राज्यप्रणाली, उत्पादन प्रणाली, प्रकृतिसँगका सम्बन्धहरू, अन्तरदेशीय सम्बन्धहरू सबैलाई परिवर्तन हुने बाटो खोलिदिन्छ । दुनियाँमा यो भन्दा राम्रो अर्को हुन सक्तैन भन्ने केही पनि छैन र भएनै पनि अर्को थाहा नभएर वा पत्तो नलागेर हो ।

कोभिड- १९ सँगको लडाइँमा पूँजीवादी संसदीय राज्य प्रणालीका कमी कमजोरीहरू मात्र होइन शासकीय अकर्मण्यताहरू पनि छताछुल्ल बाहिर आए । अर्थराजनीतिले नेतृत्व गरेका अन्तरदेशीय शक्ति संघर्षका रस्साकस्सीहरू पनि सतहमा देखिए । पूँजीवादी संसदीय राज्य प्रणालीका हिमायतिहरूले शक्तिसंघर्ष देखिइरहँदा आफैं नाङ्गिएको पत्तो नै पाएनन् । विश्वव्यापकताको यो युगमा साना ठूला, धनी गरीब, पूर्वीय र पश्चिमा, भिन्न भिन्न साँस्कृतिक पृष्ठभूमि भएका राष्ट्रहरूले कोभिड-१९ को महामारीसँग लड्ने मौका पाए । महामारीसँगको सामाजिक लडाइँमा सांस्कृतिक पृष्ठभूमिको पनि महत्व हुँदो रहेछ भन्ने  देखियो । पश्चिमा सँस्कृति भन्दा पूर्वीय संस्कृति सामाजिक लडाइँमा अब्बल देखियो ।

नेपालमा पनि सांसद किनबेचका लागि अध्यादेश जसलाई म संसदीय व्यवस्थाको चोरबाटो भन्न रूचाउँछु किनकि संसदबाट पारित भएर मात्र पास हुने पर्ने विधेयकी कानून त्यसको आँखा छलेर ल्याइन्छ त्यो पनि कानूनलाई बलियो बनाउनका लागि होइन कि खुकुलो बनाउनका लागि ल्याउने काम देखि जननिर्वाचित प्रतिनिधिहरूले संकटको बेलामा गरेका कमिसनका हर्कतहरू पहिले पनि लउडा, धमिजा, वाइड बडी काण्डहरूदेखि लिएर अन्तर्राष्ट्रिय सीमा सम्झौताहरूमा पनि देखिएका थिए अनि  कुहिएर अखाद्य भइसकेका वस्तुहरूलाई राहतका रूपमा बाँडिने काम सम्म निर्धक्क रूपमा भए ।

नीति र कानुनको कुरा गर्दा जुनसुकै शासन व्यवस्थामा पनि कानून भनेको शासकलाई बलियो पार्न र शासितलाई कमजोर पार्न निर्माण गरिन्छ । नीति निर्माण गर्नु र नीति तोड्नु दुवै शक्ति देखाउने रणनीतिहरू हुन् । आफू बलियो भएको अवस्थामा अरूमाथि शासन गर्न बनाइएका नियम कानूनहरू आफू कमजोर हुने अवस्था आएको अवस्थामा त्यसलाई कमजोर बनाउने क्रियाकर्महरू संसदीय व्यवस्थामा नयाँ अभ्यास हुँदै होइन । फ्रान्सेस फक्स र रिचार्ड क्लोवार्डको भनाइ छ कि नियम कानून भनेको समाजको आधारभूत संरचना हो । नीतिले सामाजिक जीवनलाई जोड्छ पनि र बिगार्छ पनि ।

कोभिड-१९ का कारण प्रताडित जनमाजसलाई समानुपातिक राहत दिने मनसाय सरकारमा देखिएन । कोरोना महामारीका बिचमा पनि बजारले भरपुर नाफा कमायो । राहतमा पनि राजनीति मिसियो, स्वार्थ घोलेर पिलाउन खोजियो । चप्पल बिहीन अवस्थामा हुँदा अरूलाई क्षितिजपारीको समाजको सपना देखाउनेहरू अहिले पारि जान खोज्ने मानिसलाई रोक्न वारपार गर्न बनाइएको पुल भाँच्ने काममा नै लागेको देखियो । यो भन्दा ठूलो सामाजिक लज्जाको विषय अर्को के नै हुन सक्ला र ?

अन्तमा, बलियो समाज निर्माणका लागि बलियो सांस्कृतिक पृष्ठभूमिको आवश्यकता पर्दछ नै । समाजवादी समाज निर्माणका लागि पनि निश्चित रूपमा समाजवादी सांस्कृतिक पृष्ठभूमि माग गर्दछ । म्याक्स वेबरका अनुसार पश्चिमी युरोपमा जब ठूलो समूहका मानिसहरूमा धार्मिक क्षेत्रमा मात्र नभई बाह्य जगतमा काम गर्ने, व्यवसायहरू संचालन गर्ने, सम्पत्ति जम्मा गर्ने र लगानी गर्ने प्रोटेस्ट्यान्ट र विशेषगरी काल्भिनिस्टहरूको धार्मिक नीति बन्यो, त्यसले नै आधुनिक पुँजीवादलाई जन्म दियो (प्रोटेष्ट्यान्ट इथिक्स एण्ड दी स्पिरिट अफ क्यापिटालिज्म) । यसले जीवनको उत्पादन प्रणालीमा नै ठूलो कायापलट ल्याइदियो यद्यपी, वन्दव्यापार जस्ता क्रियाकलापहरू यस अघिका सबै उत्पादन प्रणालीहरूमा थोरबहुत रूपमा हुने नै गर्थे । यस लगायत कुनै पनि सामाजिक संकटलाई जित्न मानिसमा आत्मबल, अठोट, धैर्यता, साहस, सहनशिलता, स्वतस्फूर्तता जस्ता मानवीय गुणहरूको जरूरत पर्दछ । जसको निर्माणका लागि सामाजिक सांस्कृतिक पृष्ठभूमिको आवश्यकता पर्दछ । यसर्थ, कोभिड-१९ ले सृजना गरेको यो नयाँ परिस्थितिमा भविष्य  निर्माणमा आवश्यक सांस्कृतिक पृष्ठभूमिको बिज रोप्न सहायक बन्न  सक्ननुपर्ने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*