निर्भया बलात्कारकाण्डका चारै जना दोषीलाई फाँसी

तु खबर संवाददाता
२०७६ चैत्र ७, शुक्रबार ०७:४७
file photo

निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान भारतले फाँसी दिएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो ।

निर्भया तथा बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा पवन जल्लादले झुण्ड्याएका हुन्।

बिहीबार निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरिदिएका थिए। निर्भया बलात्कारण काण्ड र हत्याकाण्डका दोषीहरुलाई फाँसीबाट बचाउनका लागि बिहीबार मध्यरातमा दिल्ली हाईकोर्टको ढोका ढकढकाए पनि न्यायाधीशहरु मनमोहन र सञ्जीव नरुलाको इजलासले याचिका खारेज गरिदिएको थियो।

दोषीहरुका वकिल एपी सिंहले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पटियाला हाउस कोर्टले फाँसीमा रोक नलागाएको भन्दै दिल्ली हाईकोर्टमा याचिका दायर गरेका थिए। दिल्ली हाईकोर्टले याचिका खारेज गरेपछि दोषीहरुका वकिल अन्तिम अस्त्र प्रयोगका लागि मध्यरातमा सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालतका न्यायाधीश भानुमतिको अध्यक्षतामा रहेको विशेष इजलासले पनि दोषीहरुको तर्फबाट पेस गरिएको दलील कमजोर भएको उल्लेख गर्दै याचिका खारेज गरिदिएपछि उनीहरुलाई फाँसी दिइएको हो। यसअघि पनि उनीहरुले विभिन्न समयमा कानुनी अधिकारको प्रयोग गर्दै अदालतको ढोकामा पुगेका थिए।

यसअघि राष्ट्रपति रामनाथ कोविन्दकोमा सजाय माफीका लागि दया याचिका पठाएको भन्दै अदालतले मार्च २ मा फाँसीमा रोक लगाएको थियो। उनीहरुलाई मार्च ३ मा फाँसी दिइँदै थिइयो तर अदालतले मार्च ५ मा चौथो पटक मृत्युदण्ड दिइने मिति तय गरेको थियो। कान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*