‘कोरोना फैलियो भने प्रदेशले व्यवस्थापन गर्न सक्दैन’

तु खबर संवाददाता
२०७६ चैत्र २, आईतवार १७:२९

काठमाडौं, २ चैत्र । प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको आवश्यक व्यवस्थापनका लागि प्रदेश सरकारले नसक्ने बताएका छन् । मुख्यमन्त्रीहरुले केन्द्र सरकारलाई नै पहल गर्न आग्रह गरेका छन् ।

उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्रीहरुले अहिलेसम्म अवस्था ठिकै रहेको तर सङ्क्रमण भइहालेमा व्यवस्थापन गर्न गाह्रो हुनेतर्फ केन्द्र सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा कोरोनाबाट बच्न प्रदेश सरकारले गरेका काम र नयाँ रणनीतिबारे छलफल भइरहेको छ । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री युवराज दुलाल बैठकमा सहभागी हुनुहुन्छ ।

मुख्यमन्त्रीहरुले सङ्क्रमण देखिएमा रोकथामका लागि गाह्रो हुने भन्दै केन्द्र सरकारले आवश्यक पहल गर्न आग्रह गरेको बैठकमा सहभागी भएर बाहिरिनुभएका सञ्चार तथा सूचना, प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीहरुले सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक औषधि तथा अन्य सामग्रीको खरिद प्रक्रिया सहज बनाउन पनि सुझाएका छन् । उनीहरुले उपचारमा खटिने स्वास्थ्यकर्मीको बीमा र समाजिक सुरक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*