बागमती प्रदेशमा महिला मन्त्री नहुँदा सत्तापक्षमै असन्तुष्टि

तु खबर संवाददाता
२०७६ फाल्गुन २६, सोमबार १०:२३
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

हेटौंडा, २६ फागुन । बागमती प्रदेश सरकार गठन भएको २ वर्ष बिते पनि सरकारमा महिलाको उपस्थिति हुन सकेको छैन। बागमती प्रदेशसभामा रहेका १ सय १० प्रदेशसभा सदस्यमध्ये ३७ जना महिला सांसद हुनुहुन्छ ।

तीमध्ये २६ जना सत्तारुढ दल नेकपाका महिला प्रदेशसभा सदस्य हुनुहुन्छ । केशव स्थापित पदमुक्त भएपछि भौतिक पूर्वाधार विकास मन्त्रालयमा महिला मन्त्री नियुक्त हुने अपेक्षा गरिएको थियो। तर, मुख्यमन्त्री डोरमणि पौडेलले केही समय सम्हालेपछि रामेश्वर फुयाँल भौतिक पूर्वाधार मन्त्री नियुक्त हुनु भयो ।

तेस्रो पटकसम्म मन्त्रिपरिषद् विस्तार हुँदासमेत महिलाले अवसर नपाएपछि सत्तापक्ष दल नेकपाका महिला प्रदेशसभा सदस्य असन्तुष्ट हुनु भएको छ ।

नेकपाका महिला प्रदेशसभा सदस्यहरूले पार्टीभित्र पनि महिलालाई मन्त्री बनाउन ‘लबिङ’ गर्दै आउनु भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा महिलालाई मन्त्री नियुक्त गर्न महिला प्रदेशसभा सदस्यहरूले पार्टी र मुख्यमन्त्रीलाई दबाब दिनु भएको थियो । तर, उक्त मन्त्रालयको जिम्मेवारी फुयाँलले पाएपछि महिला प्रदेशसभा सदस्य थप असन्तुष्ट हुनुहुन्छ ।

तेस्रो पटकसम्म मन्त्रिपरिषद् विस्तार हुँदा पनि मन्त्रिमण्डलमा महिला अट्न नसकेपछि नेकपाभित्रकै महिला प्रदेशसभा सदस्य असन्तुष्ट हुनुहन्छ । उहाँहरूले मन्त्रिमण्डल समावेशी नभएको भन्दै प्रदेशसभा, पार्टी संसदीय दलमा आवाज उठाउँदै आउनु भएको छ ।

‘हामीले पटक–पटक सदन र पार्टीमा कुरा उठाएका छौं तर हाम्रा नेताको मानसिकता नै महिलालाई मन्त्री बनाउनु हुन्न भन्ने छ कि जस्तो लाग्न थालिसक्यो’, नेकपा प्रदेशसभा सदस्य मुनु सिग्दलेलले भन्नु भयो, ‘नेताहरू अझै पनि महिलालाई मन्त्री बनाउन तयार देखिँदैनन्।’ नेकपाका प्रदेशसभा सदस्य कुमारी मोक्तानले पार्टीभित्रको स्वार्थ नमिल्दा प्रदेशले महिला मन्त्री नपाएको बताउँनुहुन्छ ।

नेकपाकै प्रदेशसभा सदस्य सीता अधिकारीले पुरुषलाई नै भागबण्डा नपुगेका कारण महिलालाई अवसर नदिइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आफ्नो मन्त्रिमण्डलमा महिला मन्त्री बनाउन नसक्नेले अन्य क्षेत्रमा समावेशीकोे कुरा गर्न सुहाउँदैन।’

प्रतिपक्षमा रहेको दलले पनि प्रदेश सरकारमा महिला मन्त्री हुनुपर्ने आवाज उठाउँदै आएको छ। ‘मन्त्रिपरिषद् समावेशी छैन, हामीले सदनमा पनि कुरा उठाएका छौं’, कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घलेले भन्नुभयो, ‘सकार आफैं समावेशी छैन भने यसले समानता र समावेशीताको क्षेत्रमा काम गर्छ भनेर अपेक्षा गर्न मिल्दैन।’

प्रदेशसभामा कांग्रसेका ७, विवेकशील साझाको १, नेमकिपाको १, राप्रपाको १ र राप्रपा संयुक्त १ जना महिला प्रदेशसभा सदस्य हुनुहुन्छ । बागमती प्रदेश सरकारले भने अब हुने मन्त्रिपरिषद् विस्तारमा महिला मन्त्री थपिने जनाएको छ।

‘अब मन्त्रिमण्डल थप हुँदा वा पुनर्गठन हुँदा महिला मन्त्री थपिन्छ’, प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले भन्नुभयो, ‘तपाईंहरूले छिट्टै महिला मन्त्री पाउनुहुुन्छ।’

बागमती प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित ७ वटा मन्त्रालय छन्। सबैमा पुरुष मन्त्री मात्र हुनुहुन्छ । अन्नपूर्णपोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*