कर्मचारी सरुवा गर्ने माग नल्याउनुस्, म स्वीकार गर्दिनः मन्त्री दुलाल
हेटौंडा, २२ फागुन । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कर्मचारीहरुले सुरुवामा माग नउठाउन आग्रह गर्नु भएको छ । उहाँले कर्मचारी सरुवाको माग अब संबोधन नहुने भन्दै यस्तो माग अगाडि नसार्न निजामती कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
आज बिहीवार हेटौंडामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती बागमती प्रदेशद्धारा आयोजित संगठन सुदृढीकरण तथा निर्माणाधिन संघीय–प्रादेशिक निजामती सेवा ऐनमा हाम्रो भूमिका विषयक अन्तरक्रियामा बोल्दै मन्त्री दुलालले कर्मचारीहरुको सरुवाले देशलाई समस्या सिर्जना गरेको बताउनु भयो ।
संगठनले निजामती कर्मचारीहरुको मागमा सुरुवाको कुरा उठेको भन्दै आफूले कार्यक्रमबाटै अस्वीकार गरेको मन्त्री दुलालले बताउनु भयो । संगठनले संघमा कर्मचारीको आवश्यकता हुँदाहुँदै समायोजनबाट आफ्नो चाहना विपरित स्थानीय तह र प्रदेशमा समायोजन भएका कर्मचारीलाई पुनः एकपटक संघमा आउने मौका दिएर स्थानीय तह र प्रदेशमा नयाँ कर्मचारी भर्ना गर्न माग गरेको थियो ।
यस्तै संगठनले प्रदेशिक निजामती सेवा ऐन तत्काल जारी गरी उक्त ऐनमा पुर्न अनुमानयोग्य, वैज्ञानिक सरुवा र बढुवाका व्यवस्था गर्न माग गरेको थियो । मन्त्री दुलालले यसरी कर्मचारी सुरुवा गर्दा विगतदेखि नै समस्या आएको भन्दै अब सुरुवा नहुने उहाँले बताउनु भायो ।
‘तपाईहरु सुरुवा भएर संघमा जान पाउनु पर्यो भन्नु हन्छ । यो म अहिले नै रिजेक्ट (अस्वीकार) गर्छु । यसो गर्दा मुलुकलाई समस्या हुन्छ । यो माग राख्दै नराख्नुस ।’ मन्त्री दुलालले भन्नु भयो, ‘तपाईहरुले समायोजन संशोधनको लागि सहमती प्रदान गर्ने कार्य रोकियोस भनेर माग राख्नु भएको रहेछ । म यस मागप्रति सहमत छु ।’
मन्त्री दुलालले एकात्मक व्यवस्थाबाट मुलुक संघात्मक व्यवस्थामा आएको भन्दै केही समस्या देखिनु स्वभाविक भएको बताउनु भयो । उहाँले संघीयताप्रति केही मान्छेमा गलत बुझाई रहेको बताउनु भयो ।
कर्मचारीहरुले संघीयतालाई समस्या ठान्न नहुने धारणा राख्नु भयो । उहाँले देशमा संघीयता ल्याउन कर्मचारीहरु पनि लडेको भन्दै दोषारोपणले मुलुकको शासन व्यवस्था सफल हुन नसक्ने बताउनु भयो ।
संगठनका बागमती प्रदेश अध्यक्ष पुरुषोतम रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रम संगठनको मकवानपुर शाखाको सहआयोजनामा गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रीय अध्यक्ष हरिबहादुर रावल, संगठनका केन्द्रीय महासचिव प्रभास प्रसाद साह, कर्मचारी मिलन केन्द्र मकवानपुरका अध्यक्ष बद्री पाठकलगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
