आइसियुमा जान नमिलेपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न भीड लाग्यो

तु खबर संवाददाता
२०७६ फाल्गुन २२, बिहीबार १२:३७
फाइल तस्बिरः अस्पतालमा प्रधानमन्त्री ओली र मिर्गौला दाता समिक्षा बर्तौला ।

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालको आइसियुमा राखेर सघन उपचार भइरहेको छ।

देशकै प्रधानमन्त्री अस्पतालको शैय्यामा भएपछि उहाँको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल महराजगन्जमा शुभेच्छुकको भीड लागेको छ।

प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल भर्ना भएदेखि नै शुभेच्छुक उहाँको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुगिरहनु भएको छ । बुधबार सफल मिर्गौला प्रत्यारोपण भएपछि आफन्त र शुभेच्छुकको उपस्थिति झनै बाक्लो भएको छ।

बुधबार साँझदेखि नै राजनीतिक दलका नेता, सरकारी उच्चपदाधिकारी र सर्वसाधारणको भीड लागेको छ। बिहीबार बिहान प्रधानसेनापति पूर्णचन्द्र क्षेत्री प्रधानमन्त्री स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुग्नु भएको थियो ।

उहाँ प्रधानमन्त्रीको सघन उपचार भइरहेको शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण युनिटको आइसियु बाहिरसम्म पुग्नु भयो, तर, भित्र जान नमिल्ने भएपछि उहाँ त्यहाँबाट फर्किनु भएको थियो ।

त्यसपछि प्रधानसेनापति थापा सरासर त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाको कक्षतिर जानु भयो । त्यहाँ प्रधानसेनापति क्षेत्रीले पनि निर्देशक खड्गासँग प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझेर फर्किनु भएको थियो ।

आइसियुमा राखिएका प्रधानमन्त्रीलाई संक्रमण हुनसक्ने भन्दै कसैलाई पनि भेट्न दिइएको छैन। प्रधानमन्त्रीलाई भेट्न नपाएपछि स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुगेकाहरु अस्पतालका निर्देशक प्रा.डा. खड्गाकहाँ पुग्ने गर्नु भएको छ । उहाँहरुले निर्देशक खड्गासँग प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिएर फर्कने गर्नु भएको छ ।

‘प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न धेरै उच्च व्यक्तिहरु आइरहनुभएकोे छ। आइसियुमा जान कोही पनि निमल्ने भएपछि सबैजना मकहाँ आएर स्वास्थ्य स्थिति बुझेर फर्किरहनुभएको छु,’ निर्देशक खड्गाले भन्नु भयो ।

खड्गाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेको छ। प्रधानमन्त्रीले कुराकानी पनि गर्नसक्ने भए पनि औषधि दिइरहेकाले धेरै बोल्न दिइएको छैन।

उहाँको स्वास्थ्यमा क्रमिक सुधार भएपछि एक–दुई दिनपछि परिवारका सदस्य र शुभेच्छुकलाई भेट्न दिइने उहाँले जानकारी दिनु भयो। नेपाल न्यूजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*