अस्पतालबाट आयो यस्तो विज्ञप्ति, प्रधानमन्त्री ओली निगरानीमा

तु खबर संवाददाता
२०७६ फाल्गुन २०, मंगलवार १७:०४

काठमाडौं, २० फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था राम्रो भएको अस्पतालले जनाएको छ।

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले ओलीको स्वास्थ्य राम्रो भएको बताएको हो। ओली अहिले अस्पतालमा विशेषज्ञको निरन्तर निगरानीमा हुनुहुन्छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको जानकारी गराउनु भएको हो । ‘हालसम्म उहाँको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ’, खड्गाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँ विशेषज्ञहरुको निरन्तर निगरानीमा हुनुहुन्छ।’

प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण अगाडि दिइने आवश्यक औषधि दिन सुरु गरिएको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ।

पहिलो पटक ओलीको मिर्गौला प्रत्यारोपण २०६४ साउनमा भारतको अपोलो अस्पतालमा गरिएको थियो। त्यस बेला बुहारी नाताकी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्। पहिलोभन्दा दोस्रो पटकको प्रत्यारोपण अलिक जटिल हुने चिकित्सक बताउँछन्।

ओलीलाई दोस्रो पटक मिर्गौला दिन उनकी भाञ्जी नाताकी समीक्षा संग्रौला तयार छन्। चिकित्सकका अनुसार उनको स्वास्थ्य जाँच गरी तयारी अवस्थामा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*