‘बाँस्कोटाबारे छानबिनअघि प्रधानमन्त्रीले निर्णय दिँदा विश्‍वसनीयता कमजोर भएन ?’

तु खबर संवाददाता
२०७६ फाल्गुन १८, आईतवार १५:५७
file photo

काठमाडौँ, १८ फागुन । प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको कमिसन प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ‌ओलीले निर्णय दिएको बारे आपत्ति जनाउनुभएको छ ।

निवर्तमान सञ्‍चार तथासूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको कमिसनबारे बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिनुभएको थियो । उक्त प्रकरणमा सार्वजनिक भएको अडियो नक्कली भएको प्रधानमन्त्री ओलीले बताउनुभएको थियो ।

प्रधानमन्त्रीले संसदमा आएर उक्त प्रकरणबारे प्रस्ट पार्नुको सट्टा पार्टी कार्यक्रममा गएर अडियो नक्कली भएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलका नेता देउवाले प्रतिनिधिसभाको आइतबारको बैठकमा आपत्ति जनाउनुभएको हो ।
विशेष समय लिएर बोलेका देउवाले भने, ‘छानबिन गर्नु पहिला नै प्रधानमन्त्रीले निर्णय दिनुभयो भने तपाईंको बोलीको विश्वसनीयता कमजोर भएन ?’

प्रधानमन्त्रीले अडियो प्रकरणबाट ध्यान मोड्न नेपाल ट्रस्टको श्वेतपत्र जारी गरेको पनि देउवाको आरोप रहेको छ । ट्रस्टका अध्यक्ष उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गत हप्ता नेपाल ट्रस्टको श्वेतपत्र जारी गर्नुभएको थियो ।

देउवाले श्वेतपत्र बाँस्कोटामाथि लागेको भ्रष्टाचार प्रकरणबाट ध्यान मोड्न आएको आरोप लगाउनुभयो । उहाँको भनाइ थियो, ‘नेपाल ट्रस्टको श्वेतपत्र सेक्युरिटी प्रिन्टिङ प्रेसको अडियो प्रकरणबाट ध्यान मोड्न आएको छ। नेपाल टेलिकममा अर्बौ भ्रष्टाचार भएको छ। एनसेलले ४ अर्बमा सक्ने काम एनटीसीलाई १२ अर्ब कसरी लाग्यो ?’ बाँस्कोटामाथि राज्यका निकायहरूले अनुसन्धान तथा छानबिन गर्नुपर्ने देउवाको माग छ।

नेपाल ट्रस्टको जग्गाबारे आफू नेतृत्वको मन्त्रिपरिषदले कुनै निर्णय नगरेको देउवाले दाबी गरेका छन्। पोखरेलले जारी गरेको ट्रस्टको श्वेतपत्रमा देउवाको नेतृत्वमा जग्गा लिजमा दिइएको उल्लेख गरिएको थियो। ‘प्रधानमन्त्री भएको बेला मेरो प्रत्यक्ष संलग्नतामा नेपाल ट्रस्टको जग्गाबारे कुनै निर्णय भएको छैन। राजनीतिक पूर्वाग्रहका आधारमा मेरो नाम आयो, पूर्वाग्रहको हद भयो,’ उहाँले भन्नुभयो ।

नेपाल ट्रस्टको जग्गाबारे पोखरेलले जारी गरेको श्वेतपत्रमाथि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्माले पनि आपत्ति जनाएका छन्।

पेट्रोलियम पदार्थमा सरकारले थप गरेको पूर्वाधार विकास करको पनि देउवाले विरोध गर्नुभयो । त्यसरी कर लगाउँदा मूल्य बढ्ने उहाँको भनाइ थियो। देउवाले कोरोना भाइरसलाई लिएर सचेत रहन सबैलाई आग्रह गनुभयो । सरकारलाई कोरोना नियन्त्रणको पूर्वतयारी गर्न पनि उहाँले आग्रह गर्नुभयो । कान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*