नयाँदिल्ली हिंसामा मृतकको सङ्ख्या ४२ पुग्यो

तु खबर संवाददाता
२०७६ फाल्गुन १७, शनिबार १९:२२

नयाँ दिल्ली, १७ फागुन । भारतको राजधानी नयाँ दिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार झण्डै ३ सय ५० भन्दा बढी घाइते भएका छन्।

हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौँ दङ्गा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ। हालसम्म ४२ जनाको मृत्यु भएको अस्पताल स्रोतले शुक्रबार जानकारी दिएको थियो।
विवादास्पद नागरिकता कानूनलाई लिएर तीन महिनादेखि देशैभर विरोध प्रदर्शन भइरहेका छन् र यस क्रममा एक सयभन्दा बढीको ज्यान गइसकेको छ।

पछिल्लो हिंसात्मक झडप उक्त कानूनको पक्ष र विपक्षमा रहेका हिन्दु र मुस्लिम समुदायबीच भइरहेको छ। हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीका घर, पसल, मस्जिद, विद्यालय, टायर बजार र पेट्रोप पम्पमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए।

गत आइतबार मुस्लिम समुदायका व्यक्तिहरूले नागरिकता कानूनको विरोधमा सडकमा जुलुस निकालेकै समयमा हिन्दु समूहले आक्रमण गरेपछि परिस्थिति नियन्त्रणबाहिर पुगेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*