बामपन्थी नेता कन्हैया कुमारमाथि राजद्रोह मुद्दा चलाउन दिल्लीको अनुमति

तु खबर संवाददाता
२०७६ फाल्गुन १७, शनिबार १४:३६

नयाँदिल्ली, १६ फागुन । भारतका प्रखर कम्युनिष्ट युवा नेता कन्हैया कुमारमाथि देशद्रोहको आरोपमा मुद्दा चलाउन आम आदमी पार्टी नेतृत्वको दिल्ली सरकारले अनुमति दिएको छ ।

जहावरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्व अध्यक्ष समेत रहनु भएका कन्हैयामाथि ‘राष्ट्रविरोधी नारा’ लगाएको आरोपमा यसअघि दिल्ली प्रहरीले देशद्रोहको आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले कन्हैया कुमार, उमर खालिद, अनिर्बानका अलावा सात जनालाई अभियुक्त बनाउँदै दिल्ली प्रहरीले मुद्दा दायर गरेको थियो ।

तर मुद्दा अगाडि बढाउनका लागि दिल्ली सरकारको अनुमति प्राप्त भएको थिएन । दिल्ली सरकारले यसलाई टाल्दै आए पनि पछिल्लो पटक अनुमति दिएको हो । देशद्रोहको मुद्दा चलाउनका लागि सम्बन्धित राज्य सरकारको अनुमति चाहिने भारतीय संविधानमा प्रावधान रहेको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाह र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालबीच भेट भएको केही दिनपछि नै कन्हैया कुमार, उमर खालिद र आनिर्बान भट्टाचार्यसहितका विद्यार्थी नेताविरुद्ध देशद्रोहको आरोपमा मुद्दा चलाउन अनुमति दिएको हो ।

केन्द्रको नेतृत्वमा रहेको भारतीय जनता पार्टीको सरकारले कन्हैया कुमारसहितका विद्यार्थी नेतालाई देशद्रोहको मुद्दा नचलाएको भन्दै आलोचना गर्दै आएको थियो ।

सन् २०१६ को फेब्रुअरी ९ मा जवाहरलाल नेहरु विश्वविद्यालयमा कथित रुपमा भारतविरोधी नारा लगाएको आरोप लागेको थियो । कथित घटनाको चार वर्षपछि अब कन्हैयासहित अन्य विद्यार्थीविरुद्ध अदालतमा देशद्रोहको आरोपमा मुद्दा चल्ने भएको छ ।

गत हप्ता मात्रै दिल्ली प्रहरीले मुख्यमन्त्री केजरीवाललाई पत्र लेखेर कन्हैयासहितका विद्यार्थी नेतालाई मुद्दा चलाउने अनुमति दिन आग्रह गरेको थियो ।

एक वर्षअघि दिल्ली प्रहरीले देशद्रोहको आरोपमा कन्हैया, उमर, आनिर्बानसहित ९ जना विद्यार्थीविरुद्ध एक हजार २ सय पृष्ठको आरोपपत्र तयार गरेको थियो । तर अदालतले देशद्रोहको मुद्दा चलाउन राज्य सरकारको अनुमतिबिना सम्भव नभएको भन्दै रोकेको थियो ।

दिल्ली प्रहरीले भारतीय संसद् भवन आक्रमणका मास्टरमाइन्ड अफजल गुरुको समर्थन कन्हैयासहितका विद्यार्थीले नारा लगाएको पनि आरोप लगाएको छ ।

दिल्ली सरकारको पछिल्लो निर्णय राजनीतिक रुपले प्रेरित भएको कन्हैया कुमारले प्रतिक्रिया दिएका छन् । मेजेस्ट्रियल इन्क्वायरीमा जवाहरलाल नेहरु विश्वविद्यालयका कुनै पनि विद्यार्थी भारतविरोधी अभियानमा नलागेको पुष्टि भएको उनले बताएका छन् । कन्हैया कुमार अहिले कार्यक्रमका लागि झारखण्डको राँचीमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*