देश छाड्ने कल्पना पनि नगरेको सुजाता कोइरालाको भनाई
काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले नेपाल छाड्न लागेको समाचारले केहि दिनयता नेपाली राजनीति वृत्तमा निकै हल्लीखल्ली मच्चायो ।
नेपाली राजनीतिमा आफ्नो छुट्टै पहिचान र स्थान बनाइसकेकी नेत्री कोइराला एकाएक विदेशिने खबर आउँदा चर्चा र बहस सिर्जना हुनु कुनै स्वभाविक कुरा हो । तर, सुजाता कोइरालाका लागि भने यो चर्चा अस्वभाविक बन्यो । उहाँले आफ्नो मातृभूमि छाड्ने कल्पना पनि नगरेको बताउनु भएको छ ।
देशले दिएको प्रतिष्ठा र इज्जतको गुन तिर्न बाँकी नै रहेका अवस्थामा आफूले नेपाल छाड्ने कुरा हुनै नसक्ने बताउनु भयो ।
सुजाता बेलायत बसोबासका लागि जाने समाचार सञ्चार माध्यमहरूमा आइरहेको उल्लेख गर्दै कोइरालाले भन्नु भयो, ‘आफूमाथि अनेकौं प्रहार हुँदा समेत देश नछाडेकोले अहिले मुलुक छाड्ने हल्ला चलाइनु वेकार हो ।’
‘मैले देश छाड्ने कुरा कल्पना बाहिरको विषय हो । मेरा लागि सबैभन्दा प्रिय यो देश हो अनि म कसरी छाड्न सक्छु ? मर्नु परे पनि नेपालमै मरौंला ।’
उहाँले आफू क्यान्सरमुक्त भई नयाँ जीवन पाएको पनि बताउनु भएको छ । ‘नेपाली दाजुभाइ तथा दिदीबहिनीकै मायाले म क्यान्सरमुक्त भएकी हुँ,’ सुजाताले भन्नु भयो ।
