बागमती प्रदेश कर्मचारी अभावले अगाडि बढ्न सकेनः मुख्यमन्त्री

तु खबर संवाददाता
२०७६ फाल्गुन १५, बिहीबार ११:४८

हेटौंडा, १५ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कर्मचारी अभावको कारण प्रदेश सरकारले काम गर्न नसकेको बताउनु भएको छ । उहाँले कर्मचारीको अभावले प्रदेश अगाडि बढ्न नसकेको बताउनु भयो ।

उहाँले प्रदेशले काम गर्न नसक्नु र बजेट खर्च गर्न नसक्नुको कारण नै कर्मचारीको अभावले रहेको बताउनु भयो । बागमती प्रदेशमा कर्मचारी समायोजना पश्चात १ सय भन्दा बढी कर्मचारीले रानीनामा दिएका थिए । त्यसकै अभावले प्रदेश सरकारले काम गर्न नसकेको मुख्यमन्त्री पौडेलले बताउनु भएको छ ।

आज बिहीवार हेटौंडामा भएको अन्तरप्रदेश लोकसेवा आयोगको प्रथम कार्यशाला गोष्ठीलाई संबोधन गर्दै मुख्यमन्त्री पौडेलले बागमती प्रदेशको विकासले अब गति लिने बताउनु भयो । उहाँले बागमती प्रदेश लोक सेवा आयोगबाट जनशक्ति अभावको समस्या समाधान गर्ने बताउनु भयो ।

अब बागमती प्रदेश लोकसेवा आयोगबाट कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरु भएको उहाँको भनाई छ । संघीय निजामती ऐन बन्दै जाने र प्रदेशमा पनि कर्मचारी भर्ना प्रक्रिया थाल्दै गर्नुपर्ने उहाँले बताउनु भयो । सातवटै प्रदेशमा एकैसाथ एकरुपताका आधारमा कर्मचारी भर्ना गरिनुपर्ने मुख्यमन्त्री पौडेलको धारणा छ । लोकसेवा आयोगको गरिमालाई मुख्यमन्त्री पौडेलले प्रशंसा गर्नु भयो ।

बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, बागमती प्रदेशका प्रमुख सचिव तोयम राय, प्रदेशसभाका सचिव शामशरण घिमिरेलगायतको आतिथ्यता थियो ।

बागमती प्रदेश लोकसेवा आयोगले आयोजना गरेको कार्यक्रममा लोकसेवा आयोगका सदस्य शर्मिला न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । लोकसेवा आयोगका पूर्व सदस्य डा. गोविन्द कुसुमले लोकसेवा आयोगका काम, कर्तव्य, अधिकार र आगामी योजनाका बारेमा सहजीकरण गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*