नयाँ दल खोल्दै पूर्व डीआईजी रमेश खरेल, अरु को–को छन् ?
काठमाडौं, १४ फागुन । नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले नयाँ दल खोल्ने तयारी गर्नु भएको छ । पार्टी स्थापनाको उद्देश्यले उहाँले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गर्नु भएको छ ।
अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच गरिने खरेलले बताउनु भयो । खरेलले भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने बतायनु भएको छ ।
सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको खरेलले बताउनु भयो।
२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिनु भएको थियो ।
खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्व कायममुकायम सचिव देवेन्द्र सिटौला, आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलगायत पनि आबद्ध हुनुहुन्छ ।
अभिव्यक्ति र कार्यशैलीका कारण विवादित शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुनुहुन्छ।
पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि संगठनमा ल्याउनेबारे छलफल भइरहेको बताइएको छ। यद्यपि पहिलो घोषणा सभामा भने पूर्वडीआईजी खरेल र पूर्वसचिव सिटौला रहनु हुनेछ ।
