हेटौंडामा निर्वाचित महिला जनप्रतिनिधिको भेला हुँदै

तु खबर संवाददाता
२०७६ फाल्गुन १४, बुधबार १०:३७

हेटौंडा, १४ फागुन । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लामा निर्वाचित महिला जनप्रतिनिधिहरुको भेला आयोजना गर्ने भएको छ ।

जिससले ११० औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर फागुन १९ गते जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भेला आयोजना गर्न लागेको हो ।

मंगलबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले दिवसको अवसरमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

दिवसकै अवसरमा जिल्लामा विभिन्न कार्यक्रमहरु आयोजना हुने हुँदा सबै कार्यक्रमहरुलाई प्रभावकारी बनाउने उदेश्यका साथ जिल्ला समन्वय समितिले कृयाशिल संघ÷संस्थाहरुसंग आज छलफल गरेको हो ।

बैठकले कार्यक्रमका बारेमा जानकारी दिन जिल्ला समन्वय समिति मकवानपुरले २०७६ साल फागुन १८ गते पत्रकार सम्मेलनको आयोजना गर्ने र जिससले १९ गते हेटौंडा–४ स्थित पशुपति मन्दिरको सभाहलमा महिला जनप्रतिनिधि भेला आयोजना गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

त्यस्तै दिवसकै अवसरमा २० गते मनव अधिकार तथा मानव बेचविखनविरुद्धको सञ्जालले हेटौंडा अस्पतालमा सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गर्ने, २१ गते नेपाल महिला संघले हेटौंडाको बुद्ध चोकमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने, २२ गते आँचल साहित्य पुञ्जले जिससकै सभाहलमा कविता वाचन कार्यक्रम गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यस्तै फागुन २३ गते दिवशकै सन्र्दभमा भीमफेदी गाउँपालिकाले गाउँपालिकामा र अखिल नेपाल महिला संघले पदमपोखरी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, २४ अखिल नेपाल महिला संघले नै हटियामा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो ।

साथै २४ गते नै हेटौंडा उपमहानगरपालिकाले मनाउने स्वर्ण दिवसमा जोडेर अन्तराष्ट्रिय महिला दिवस मनाउने, तथा अन्तरािष्ट्रय नारी दिवसका दिन फागुन २५ गते नेपाल नर्सिङ्ग संघ मकवानपुरले पाठेघर क्यान्सर जाँच सम्बन्धी शिविर आयोजना गर्ने, तथा जिल्लाका दशै स्थानीय तहमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो ।

यसका साथै सोहि दिन बागमती प्रदेश सरकारले नारी दिवसका अवसरमा प्रभातफेरी तथा महिला सहकारीलाई पुरस्कार वितरण गर्ने कार्यक्रम गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा विभिन्न दिवशका अवसरमा विभिन्न संघ संस्थाहरुले आ–आफ्नै कार्यक्रमहरु आयोजना गर्दा प्रभावकारी हुन नदेखिएकाले त्यस्ता कार्यक्रमहरुलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिले समन्वयकारी भुमिका निर्वाह गर्न लागेको प्रमुख खुलालले बताउनुभयो ।

बैठकमा जिल्ला समन्व्य समितिकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, मनहरी गाउँपालिकाका उपाध्यक्ष मनीला बिष्ट, कैलाश गाउँपालिकाका उपाध्यक्ष शुकुमाया थिङ्लगायत जिल्लामा कृयाशिल सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*