हेटौंडाको सुरक्षा गोष्ठी लगत्तै गृहमा किन बोलाइयो आकस्मिक बैठक ? सतर्क रहन मन्त्रीको निर्देशन
हेटौंडा, १३ फागुन । गृहमन्त्रालयले बागमती प्रदेशको मुकाम हेटौंडामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठी लगत्तै गृहमन्त्रालय काठमाडौंमा आकस्मिक बैठक बोलाएको छ ।
फागुन १० र ११ गते हेटौंडामा सुरक्षा गोष्ठी गरिएको थियो । गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा बादलले बागमती प्रदेशभित्रको सुरक्षा रणनीतिका बारेमा विशेष निर्देशन दिनु भएको थियो ।
गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्तिसुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रणको लागि विभिन्न योजना र उपाय, चीन र नेपालको सीमाना सम्बन्धि समस्या समाधानको लागि समिक्षा भएको थियो ।
गोष्ठी सकिएको २४ घण्टापछि गृहमन्त्रालयमा गृहमन्त्री थापाले गृहमा आकस्मिक बैठक डाकेर सुरक्षामा उच्च सतर्क रहन सुरक्षा प्रमुखलाई निर्देशन दिनु भएको छ ।

बैठकमा गृहसचिव, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी कार्यालयका प्रमुखको उपस्थिति थियो ।
मन्त्री थापाले उपत्यकाबाहेक अन्य जिल्लामा समेत घटना हुन सक्ने भन्दै गम्भीर भएर योजनाबद्ध ढंगले सतर्क रहन निर्देशन दिनु भएको हो । हेटौंडामा गोष्ठीमा मन्त्री थापाले मुलुकमा शान्तिसुरक्षाको अवस्थामा निकै सुधार भएको बताउनु भएको थियो ।
हेटौंडामा भएको गोष्ठीमा गृहमन्त्रालयको सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका आइजीपी, राष्ट्रिय अनुसन्धान विभाकको प्रमुख र नेपाली सेनाको उच्चस्तरीय सुरक्षा अधिकृत, १३ वटै जिल्लाका प्रजिअलगायतकाको सहभागिता रहेको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
