जसरी मलाई त्यो भूमरीमा पठाइयो, त्यो लडाई मैले जितेँः महरा
काठमाडौं, १२ फागुन । पूर्व प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले आफू तीन महिना जति भूमरीमा परेको बताउनु भएको छ । उहाँले त्यो भूमरीमा षड्यन्त्र पूवर्क पठाइएको बताउनु भएको छ ।
संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएपछि पहिलो पटक आज सोमबार महरा निर्वाचन क्षेत्र दाङमा पुग्नु भएको छ । महराले आफूमाथि ठूलो षड्यन्त्र भएको तर जितेर आएको बताउनु भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांंसद महराले भन्नु भयो भने, ‘तीन महिना जति म भुमरीमा परेँ, जसरी मलाई त्यो भूमरीमा पठाइयो, त्यो लडाई मैले जितेँ ।’
उहाँले जनताको तागतको अगाडि कुनै षड्यन्त्रको जित नहुने बताउँदै जनताको साथ, सहयोग र समर्थनको बलमा आफूले यो लडाई जितेको सुनाउनु भयो । आफूमाथि लागेको आरोपबारे अदालतले नै बोलिसकेकाले थप केही भन्नु नपर्ने उहाँले बताउनु भयो ।
तत्कालीन सभामुख महराले १४ असोजमा पदबाट राजीनामा दिनु भएको थियो । जिल्ला अदालतले उहाँलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनी १ सय ३ दिन डिल्लीबजार कारागारमा बस्नु भएको थियो । जिल्ला अदालतले सफाइ दिएपछि उहाँ छुट्नु भएको हो ।
