हेटौंडामा सांसदको गर्जनः ‘प्रधानमन्त्रीले राष्ट्रियतामाथि प्रहार गर्नुभयो, जनतासामू क्षमायाचना माग्नुपर्छ’
हेटौंडा, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियतामाथि प्रहार गर्न खोजेको भन्दै बागमती प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले आलोचना गर्नु भएको छ ।
आफ्नो ६९ औं जन्मोत्सव मनाउने क्रममा प्रधानमन्त्रीले नेपालको नक्शा अंकित ‘बर्थडे केक’ काट्ेर राष्ट्रियतामाथि प्रहार गरेको धारणा प्रतिपक्ष सांसदहरुले राख्नु भएको हो ।
आज सोमबार बागमती प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै प्रधानमन्त्री ओलीले आम नेपालीहरुको बीच मर्यादितरुपमा क्षमायाचना गर्नु पर्ने माग सांसदहरुले गर्नु भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु विजुला बर्मा, निमा लामा, छिरिङ दोर्जे लामा, नरोत्तम वैद्य, जीवन डंगोल, भिमसेन खत्री, दीपेन्द्र श्रेष्ठ र विवेकशील पार्टीका रमेश पौड्यालले प्रधानमन्त्रीले ठूलो खर्च गरी राजसी शैलीमा जन्मदिन मनाउनु शोभनीय नभएको र नेपालको नक्शा अंकित केक काटेर मर्यादा विपरित काम गरेको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले तत्काल नेपालीहरुबीच क्षमायाचना गर्नुपर्ने माग सांसहरुको छ । आइतबार प्रधामन्त्री केपी ओलीले आफ्नो ६९औं जन्मदिन तेह्रथुमस्थित आफ्नो जन्मघर पुगेर धुमधाम मनाउनु भएको थियो ।
प्रधानमन्त्रीले नेपालको नक्शा अंकित केक काटेर जन्मोत्सव बनाएको विषयले यतिबेला सामाजिक संजाल पुरै तरंगित भएको छ । फेसबुक र ट्वीनटरमा अधिकांशले प्रधानमन्त्रीकजस्तो राष्ट्रकै प्रतिष्ठित व्यक्तित्वले नेपाल नक्शा अंकित ‘वर्थडे केक’काट्नु उचित नभएको प्रतिक्रिया जनाएका छन् ।
