एमसीसी कार्यान्वयनमा सत्तारुढ दलले अनावश्यक किचलो गर्यो–कमल थापा
सुर्खेत, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताउनुभएको छ ।
सोमबार पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि सुर्खेतमा पत्रकारहरुसँग भएको भेटघाट कार्यक्रममा उहाँले सत्तारूढ दलका नेताहरूबीचको आपसी झगडाका कारण एमसीसीमा अनावश्यक भ्रम र आशङ्का सिर्जना गरिएको आरोप लगाउनुभएको हो ।
एमसीसीको विषयमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी ओली शर्मासम्मका सबै प्रधानमन्त्री र अर्थमन्त्रीहरु जिम्मेवार रहेको अध्यक्ष थापाको भनाइ छ ।
उपप्रधानमन्त्री समेत रहेको थापाले एमसीसीलाई अन्तिम रूप दिने काम तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालकै पालामा भएको प्रस्ट पार्नुभयो ।
उहाँले वर्तमान सरकारले भ्रष्टाचार, महँगी, कालोबजारी र विदेशी प्रभाव रोक्न नसकेको टिप्पणी गर्नुभयो ।
त्यस्तै उहाँले राप्रपा (संयुक्त) सँग पार्टी एकताका लागि ढोका खुलै रहेको र नेकपा र काँग्रेस सिद्धान्तविहीन भएकाले राप्रपा आफ्नो नेतृत्वमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने अभियानमा जुटेको बताउनुभयो ।
