भ्रष्टाचार कसुरमा अनुसन्धान गर्न बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

तु खबर संवाददाता
२०७६ फाल्गुन ११, आईतवार १४:१६
फाइल तस्बिर

काठमाडौं, ११ फागुन । निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाविरुद्ध भ्रष्टाचार कसुरमा अनुसन्धान गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

बाँस्कोटाले सुरक्षण छपाइ मेसिनको खरिद प्रक्रिया सुरु गर्न स्वीस कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौँ कमिसन मागेको अडियो बुधबार राति सार्वजनिक भएको थियो। त्यो अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार मन्त्री पदबाट राजीनामा दिनु भएको थियो ।

दोलखाका विजय बाबु शिवाकोटी र सुनसरीका प्रितम सुवेदीले बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी उजुरी दर्ता गराउनु भएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ को भ्रष्टाचार सम्बन्धी कसुर तथा सजाय शीर्षकको दफा ३ (१) अनुरुप बाँस्कोटाको त्यो कमिसनको बार्गेनिङ भ्रष्टाचार रहेको भन्दै कारबाही गर्न माग गरिएको छ।

ऐनमा भएको व्यवस्था अनुसार भ्रष्टाचारको कसुरमा छानबिन गर्ने प्रष्ट आधार देखिने भएकोले आवश्यक छानबिन गरी हदैसम्मको कारवाही गर्न उजुरीमा माग गरिएको छ।

ऐनको यो दफामा राष्ट्रसेवकले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा वा नगर्न ‘रिसवत लिएमा वा लिन मञ्जुर गरेमा कैद र बिगो तथा जरिबानाको व्यवस्था गरेको छ। एक करोड रुपैयाँभन्दा बढी लिएमा ८ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था सो ऐनमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*