दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाबाट बच्न दूतावासको यस्तो अपिल
काठमाडौं, ११ फागुन । चिनलाई आक्रांत बनाएको कोरोना भाइरस (कोभिड–१९)बाट सवधानी अपनाउन आफ्ना नागरिकलाई दक्षिण कोरियास्थित नेपाली दूतावासले अपिल गरेको छ ।
दक्षिण कोरियामा रहेका नेपालीहरुलाई कोराना भाइरसको संक्रमणबाट बच्न सजग रहन दुतावासले आग्रह गरेको हो।
पछिल्लो समय कोरियामा कोभिड–१९ भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा तीव्र वृद्धि भएको छ। दक्षिण कोरियाको थेगु सहरमा सबैभन्दा बढी संक्रमित भएका छन्।
कोभिड–१९ को संक्रमणबाट हालसम्म ४ जनाको मृत्यु भइसकेको छ। एकै दिनमा संक्रमित हुनेको संख्या दोब्बर वृद्धि भएको छ। संक्रमित हुनेहरुको संख्या पाँच सय ५६ पुगेको छ।
अवैधानिक रुपमा बसोबास गरेकालाई कोराना भाइरसको शंका लागेमा स्वास्थ्य परीक्षण गर्न कोरिया सरकारले पक्राउ नगर्ने भएको छ। साथै, भिसा सकिएकालाई ५० दिनको अतिरिक्त भिसा थपिदिने भएको छ।
कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य संस्थाबाट जारी भएका सुरक्षा उपायहरु अबलम्बन गर्न दूतावासले नेपालीहरुलाई आग्रह गरेको छ। रोजगार अनुमति प्रणालीमार्फत कामका लागि ४० हजार बढी युवा कोरियामा कार्यरत छन्। अध्ययन र व्यवसाय गर्नेहरु समेत कोरियामा नेपाली छन्।

