एमसीसी बारे नेकपा कार्यदलले बुझायो प्रतिवेदन, संशोधनपछि मात्रै पास गर्न सुझाव
काठमाडौं, ९ फागुन । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदलले पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न सचिवालय सदस्य झलनाथ खनाल र स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली रहेको समिति गठन गरेको थियो ।
‘हामीले सरकार र एमसीसीबीच भएको सम्झौताअनुसार हिन्द प्रशान्त रणनीतिका सम्बन्धमा आवश्यक सन्दर्भ सामग्री तथ्यको विस्तृत रुपमा अध्ययन, विश्लेषण गरी प्रतिवेदनको मस्यौदा तयार गरेर अध्यक्षलाई बुभाएका छौँ’, कार्यदलका एक सदस्य भीम रावलले भने।
शुक्रबार बसेको कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाइएको हो । समितिले एमसीसी बारे प्रतिवेदनमा के उल्लेख गरेको छ ? खुल्न सकेको छैन् ।
सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरिएको कार्यदल सदस्य भीम रावलले जानकारी दिए ।
