मकवानपुरगढीको विकास गर्न लागिपरेको छुः सांसद खतिवडा
हेटौंडा, ९ फागुन । मकवानपुरका प्रतिनिधिसभा सांसद विरोध खतिवडाले मकवानपुरगढीको विकासको लागि आफू लागि परेको बताउनु भएको छ ।
मकवानपुरगढी–५ सुन्दरधाममा आज शुक्रबारदेखि सुरु श्रीमद् तारतमसागर तथा श्रीमद् भागवत ज्ञान महायज्ञको उद्घाटन गर्नु हुँदै सांसद खतिवडाले मकवानपुरगढीको विकासमा थुप्रै बजेट बिनियोजित गरेको बताउनु भएको छ । मकवानपुरगढीलाई विकासमा पछाडि पर्न नदिने उहाँको भनाई थियो ।
जनताले चुनावमा गरेको विश्वासलाई धोका नदिने गरी काम गरिएको खतिवडाले बताउनु भयो । श्रीकृष्ण सेवा समिति नेपालको ४१ औं बार्षिक उत्सवको अबसरमा गरिएको महायज्ञलाई संबोधन गर्दै उहाँले मकवानपुरगढीले विकासमा गति लिएको बताउनु भयो ।
मकवानपुरगढीको मुख्य सडकमार्ग बासुदेव मार्ग निर्माणका लागि आफूले निरन्तर बजेट छुट्याएर काम गरिएको सांसद खतिवडाले बताउनु भयो । चालु आर्थिक वर्षमा पनि ६ करोड रुपैयाँ बजेट छुट्याएर काम भइरहेको उहाँको भनाई छ । नेपालीका हरेक घरमा उज्यालो पार्ने गरी सरकारले काम गरिरहरको बताउनु भयो ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंले भगवान एक भएपनि रुप अनेक रहेको बताउनु भयो । उहाँले हरेक व्यक्तिको आयश्रोतबाट १० प्रतिशत दान मन्दिर निर्माणका लागि गर्न आग्रह गर्नु भयो ।
अध्यक्ष हुमागाईंले गाउँपालिकामा भौतिक पूर्वाधार निर्माणका काम धेरै भइरहेको जानकारी दिनु भयो ।
कृष्ण प्रणामी मन्दिर सुन्दरधाम सामरीका अध्यक्ष बालकृष्ण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा भागवतका प्रमुख वाचिका तारा घिमिरे, श्रीकृष्ण सेवा समितिका केन्द्रीय सदस्य बद्री प्रसाद चौलागाई, गढी–५ का वडा अध्यक्ष जित बहादुर घिमिरेलगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
