जोडिरहेको फोन चार्जर मुखमा हालेपछि… झट्का
ब्राजिलको लुकास दो रियो भेर्देमा ६ महिनाकी एक शिशुले सकेटमा जोडिरहेको मोबाइल चार्जरको तार मुखमा हालेपछि बिजुलीको नराम्रो झट्का लागेको छ ।
झट्का अत्यन्तै कडा हुनाले घरको बिजुली नै बन्द भएको थियो अनि शिशुलाई बेहोश बनाएको थियो ।
शिशुको अनुहार र दाहिने हात डढेको छ भने औंलाका टुप्पामा दाग लागेको छ ।
घरमा मोबाइल चार्ज गरिरहेको बेलामा शिशुले फोनमा खेलेको विश्वास गरिएको छ । धातुको यूएसबी कनेक्टरमा जोडिएको तारको पछिल्लो भागलाई उनले टोकेको विश्वास गरिएको छ ।
बेहोश अवस्थाकी शिशुलाई नजिकैको स्वास्थ्य केन्द्रमा दौडाइएको थियो । स्वास्थ्यकर्मीहरूले उनलाई होशमा ल्याएका थिए ।
शिशुलाई लागेको चोटले ज्यान समेत लिनसक्ने बताइएको छ र उनको घाँटीमा जमेको तरल पदार्थ हटाउन शल्यक्रिया गर्नुपरेको छ ।
सघन उपचारका लागि उनलाई साओ लुकास अस्पताल लगिएको छ ।
बिजुलीको झट्का उनको हातमा लागेर चिउँडोबाट निस्किएको चिकित्सक हेलेनो स्ट्रोबेल रोसाले बताइन् । बच्चालाई अस्पताल ल्याउँदा मुटुको चाल र श्वासप्रश्वास अत्यन्तै कम रहेको उनको भनाइ छ ।
शिशुका हजुरबुवा हजुरआमाले शिशु सुतिरहेको ओछ्यानमा मोबाइल फोन चार्ज गरिरहेको बताएको चिकित्सकले जानकारी दिइन् ।
त्यत्रो झट्का लाग्दा पनि शिशु जीवितै रहनु सौभाग्यको कुरा भएको डा रोसाले बताइन् र मोबाएल फोनबट हुने यस्ता दुर्घटनालाई रोक्न सकिने बताइन् ।
शिशुको स्वास्थ्यको अप्डेटमा उनी अस्पतालमै रहेको र अहिले खतरामुक्त रहेको बताइएको छ । एजेन्सी
