फुयाललाई मन्त्री बनाउँदा नेकपा बागमती प्रदेशभित्र ‘अन्तरकलह’
हेटौंडा, ६ फागुन । बागमती प्रदेशको नयाँ मन्त्री थपिएका छन् । लामो समयदेखि रिक्त रहेको प्रदेशको भौतिक योजना मन्त्रालयमा रामेश्वर फयाल नयाँ मन्त्री भएर आउनु भयो ।
नेकपा प्रदेश पार्टीभित्रको विवादकै बीचमा मुख्यमन्त्री डोरमणि पौडेलले फुयाललाई हालै मन्त्रीको सपथ गराउनु भएको छ । प्रदेशको राजधानी हेटौंडा बनाउन मुख्यमन्त्री पौडेललाई साथ दिएका फुयालले पहिलो पटक मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाउनु भएको हो ।
गत मंगलबार नै फुयाललाई मन्त्रीमा नियुक्त गरिएको थियो । नियुक्त गरिएको भोलिपल्टै सपथ कार्यक्रम थियो । तर, नेकपा प्रदेश कमिटीको बैठकमा चर्को विवाद सिर्जन भएपछि उहाँको सपथ स्थगित गरियो ।
फुयालाई मन्त्री बनाउने मुख्यमन्त्रीको प्रस्तावमाथि प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यसहितका नेताहरुको सहमति थिएन । फुयालको सपथ स्थगित गराउन नेकपा प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यको मुख्य भूमिका रहेको उहाँले यसअघि नै स्वीकार गरिसक्नु भएको छ ।
पार्टी इञ्चार्ज शाक्यले हस्तक्षेप गरेकै कारण केही दिन फुयालको सपथग्रहण रोकिएको थियो । तर, पार्टीको शीर्ष नेतृत्वबाटै स्वीकृति पाएपछि मुख्यमन्त्री पौडेलले फुयाललाई मन्त्री बनाउनु भयो । फुयाललाई मन्त्री बनाउन नहुनेमा नेकपाकै अन्य सांसदहरुको पनि सहमती रहेको नेकपा स्रोतको भनाई छ ।
प्रदेशको राजधानी बनाउने समयदेखि नेकपाभित्र अन्तरिककलहले जग हालेको छ । नेकपाका अधिकांश सांसद हेटौंडालाई राजधानी बनाउन नहुने पक्षमा उभिनु भएको थियो भने मुख्यमन्त्री पौडेललगायतका केही नेताहरु हेटौंडालाई जसरी पनि राजधानी बनाउनु पर्ने जोडमा हुनुहुन्थ्यो ।
यसरी विवादले गति लिँदै जाँदा बागमती प्रदेशमा दुईतिहाई बहुमतको सरकार चलाइरहेको नेकपाभित्र अन्तरकलह देखा परेको छ । नेकपाका प्रदेश सांसदहरुको असन्तुष्टि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तहसम्म पुगेको छ ।
कतिपय सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेको चर्चा समेत चलिरहेका बेला नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले समेत मुख्यमन्त्री डोरमणि पौडेल पार्टीभित्र अल्पमतमा परेको गरिसक्नु भएको छ ।
पछिल्लो समय मुख्यमन्त्री पौडेलविरुद्ध माधव नेपाल पक्षमात्र होइन, पूर्वमाओवादी पक्षका प्रदेश सदस्यहरु पनि एकजुट हुनु भएको छ । पूर्वमाओवादी पक्षका मन्त्रीहरु शालिकराम जमरकट्टेल र युवराज दुलाल मुख्यमन्त्री पौडेलसँग असन्तुष्ट हुनुहुन्छ ।
