गगन थापाको संसदमा व्यंग्यः ‘चोरीको सामान फर्काउँदा विष्णु विष्णु भन्नु’
काठमाडौं, ६ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगन थापाले बालुवाटार जग्गा प्रकरणबारे कडा व्यंग्य गर्नु भएको छ ।
थापाले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा नेता विष्णु पौडेललाई लक्षित गर्दै व्यंग्य गर्नु भएको हो । उहाँले मंगलबार बसेको प्रतिनिधिसभाको बैठक स्वस्थानी वाचन शैलीमा व्यंग्य गर्नु भएको थियो ।
संसदमा बोल्दै कांग्रेस नेता थापाले भन्नु भयो ‘कुमार जी आज्ञा गर्नुहुन्छ हे विष्णुमणी। अब उपरान्त कसैको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु। थाहा पाइ हाले होइन होइन भन्नु। चित्त बुझाउन नसके, अप्ठ्यारोमा नि परेको भए चोरीको सामान फर्काउनु र दुई पटक विष्णु विष्णु भन्नु।’
स्वस्थानी वाचन गर्ने शैलीमा थापाले भन्नु भयो ‘त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खडग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु।
त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैनन्। इति श्री अख्तियार पुराणे कुमार विष्णु संवादे श्री स्वास्थानी ब्रतकथा हे बालुवाटार प्रकरण बर्णानाम प्रथम अध्याय।’
