सरकारलाई ‘अनवान्टेड गेस्ट’ नठान्‍न प्रधानमन्त्रीको चेतावनी

तु खबर संवाददाता
२०७६ फाल्गुन ४, आईतवार ०८:५२
file-photo

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको लोकप्रिय मत र विश्वासबाट बनेको सरकारलाई ‘अनवान्टेड गेस्ट’ नठान्न चेतावनी दिएका छन् । विगतका सरकारका अनेक बेथितिलाई ठीक पार्नुपर्ने कर्तव्य आफ्नो रहेको जनाउँदै ओलीले पार्टी खोल्ने, झन्डा बोक्ने र सडकमा संघर्ष गर्ने स्वतन्त्रतालाई मात्र आफूले लोकतन्त्र नमान्ने बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसप्रति आक्रामक रूपमा प्रस्तुत भएका थिए । उनले जननिर्वाचित प्रधानमन्त्री आफूले गत वर्ष कांग्रेसको अवरोधका कारण सरकारको कामको प्रतिवेदन सदनमा राख्न नपाएर सिंहदरबार बाहिर जानुपरेको गुनासो गरे । ‘अमुक झन्डा हुँदैमा कोही पनि सर्टिफाइड लोकतान्त्रिक हुँदैन,’ उनले कांग्रेसप्रति लक्ष्य गर्दै भने, ‘कसैले गर्भैमा लोकतन्त्रको दर्ज्यानी चिह्न पाउने, कसैले आफू लोकतन्त्रवादी भएको पुष्टि गर्न पाइलैपिच्छे कुदिरहनुपर्ने दोहोरो मापदण्ड मान्य हुँदैन ।’

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई समानता, न्याय, अवसर र मर्यादासहितको लोकतन्त्र मात्र सही हुने बताए । उनले निर्वाचनका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले ‘कम्युनिस्ट सरकार बन्यो भने हाँस्न र रुन पनि पाइँदैन’ भनी दिएको अभिव्यक्ति जनताले नपत्याएको बताए । ‘लोकतन्त्र खतरामा परेको एकतारे वर्षैभरि पट्यारै लाग्ने गरी बजिरह्यो । यो एकतारे माइतीघर मण्डलमा घन्कियो । कहिले गुठी विधेयकको नाममा उफ्रियो,’ उनले भने ।

विगतमा सरकार फेरिरहने घटना जोड्दै ओलीले एउटै सरकार दुई वर्ष सञ्चालन हुनुलाई पनि उपलब्धिका रूपमा हेर्नुपर्ने बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*