प्रधानमन्त्रीको प्रश्नः बालुवाटार जग्गा प्रकरणमा देखाउनेले दाग देखायो, किन रुवाबासी ?
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार (ललिता निवास) जग्गा प्रकरणमा सरकारले कसैप्रति पनि आग्रह वा पूर्वाग्रह नराखेको स्पष्टीकरण दिएका छन् ।
ललितानिवासको १३६ रोपनी जग्गामाथि गरिएको जालसाजीविरुद्ध आफैंले छानविन समिति बनाएको तर प्रधानमन्त्रीले नै जग्गा बेचेर खाएछ भन्ने भान पर्ने गरी प्रचार गरिएको गुनासो गरे ।
सरकार गठन भएको दुई वर्ष पुरा भएको दिन शनिबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आयोगले छानविन गरुन्जेल केही मानिसले अधीरतापूर्वक सरकारलाई उत्तेजित पार्ने गरी खोई त कारबाही भनिरह्यो । आरोपितहरुविरुद्ध जब मुद्दा दायर भयो, देखिएका र सुनिएका प्रतिक्रिया ड्रागन प्रेमी युवाको जस्तै भयो ।’
प्रधानमन्त्री ओलीले अघि भने, एउटा गीत सम्झिन्छु म, ‘देखाउनेले दाग देखायो, किन रुवाबासी ’
सरकार कसैप्रति आग्रही वा पूर्वाग्रही नभएको उनले बताए । आग्रह र पूर्वाग्रह बेगर चर्चामा ल्याइएका वा चर्चामा रहेका सुन तस्करी, वाइडबडी, न्यारोवडी लगायतका विभिन्न प्रकरणको निश्पक्ष छानविन हुन्छ’ प्रधानमन्त्री ओलीले भने ।
