जनयुद्ध सम्झनाः मकवानपुरमा यसरी भयो एकैपटक १९ जनाको हत्या

तु खबर संवाददाता
२०७६ फाल्गुन १, बिहीबार १९:२५
माथिबाट गन्दा तेस्रो घर जहाँ १९ जना माओवादी नेता, कार्यकर्ता नेपाली सेनाको कारबाहीमा मारिएका थिए ।

हेटौंडा, १ फागुन । २२ माघ २०६० को त्यो रात । तत्कालिन शाही नेपाली सेनाले माओवादीहरु सेल्टर बनाएर भिमानमा बसेको सूचना पाएपछि पर्साको अमलेखगञ्जबाट भिमानतर्फ उकालो लाग्यो ।

बिरगञ्जमा माओवादीकै एक कार्यकतालाई पक्राउ गरेपछि मकवानपुरसहित पर्सा र बाराका माओवादी सेक्रेटरीलगायतका नेताहरु भिमानको स्थानीय हिरालाल बलको घरमा सेल्टर बनाएको सूचना पायो ।

सेल्टरमा हरेक बिहीवार बैठक हुने गरेको सेनाले थाहा पायो । भिमानमा माओवादीको बैठक सञ्चालन हुने घरमा सेना पुग्यो ।

सेनाले पक्राउ परेको कार्यकर्तालाई घरको ढोका खोल्न लगायो । घरमा एक वृद्धा पनि थिइन् । वृद्धाले ढोका खोल्ने बित्तिकै सेनाले गोली बर्साएपछि देश परिवर्तन गर्न भन्दै हिँडेकाहरुले संसारबाट बिदा लिए ।

भिमानको त्यो घरमा जब रातभर गोली चल्यो एकैघरमा बसेका १९ जनाले ज्यान गुमाए । सोही घरमा बसेर माओवादीले तीन जिल्लाको गतिविधि सञ्चालन गर्दै आएको थियो ।

मकवानपुर, बारा र पर्साका तत्कालिन माओवादीका नेता नेताहरु बासु लामिछने (बिकास), माओवादीका कमाण्डर कृष्णबहादुर तिरुवा, तेज नारायण पाण्डे (राजु), मुक्ती विक, लक्ष्मी आपागाइ (चेतना), गिता विक, किरण बर्तौला, हिरा मुक्तान, राजकुमार घलान, सुकुमाया बल, हीरा सुवेदीलगायत १८ जनाको टोली बसिरहेको घरलाई घेरा हालेर सेनाले मारेको थियो ।

सेनाले खहरे खोलामा १८ जनाको शव विभत्स तरिकाले फालेको थियो । डिलमा अढेस लगाएर राखेको अवस्थामा पर्सा जिल्ला सेक्रेटरी बिकासको शव थियो ।

तत्कालीन हत्याको घटना सम्झेर अहिले पनि स्थानीय बासिन्दा झस्कन्छन् । गाउँ नै दुर्गन्ध हुने गरी मानिसका शव कुहिएको अवस्थामा अधिकाँश गाउँलेहरुले महिनौसम्म गाउँ छाडेका थिए ।

भिमानस्थित एक घरमा तत्कालिन नेकपा माओवादीका १९ जना नेता तथा कार्यकर्ताहरुले ज्यान गुमाएको घरमा आयोजित श्रञ्द्धाजली कार्यक्रम ।

आज बुधवार मकवानपुरको साविक हाँडिखोला गाविस वडा नं. ४ को भिमानमा तत्कालिन माओवादीका नेताहरु पुग्दा १६ वर्षअघिको घट्ना सम्झिए ।

‘याँही हाम्रा १८ जना साथीहरु मरिएका थिए ।’ प्रदेश सांसदसमेत रहेका नेकपा मकवानपुरका सहसंयोजक प्रेमबहादुर पुलामीले सम्झिए,’ सेनाले सेल्टर बनाएर बसेको घरलाई घेरा हालेर १९ जनामाथि गोली बर्साएको थियो ।’

घरमा बसिरहेको बेलामा नेपाली सेनाले १८ जना माओवादी कार्यकर्ता र १ वृद्धालाई मारेको प्रदेश सांसदसमेत रहेकी नेकपा मकवानपुर सहइञ्चार्ज कुमारी मोक्तानले पनि स्मरण गरिन् ।

सोही १९ जनाले ज्यान गुमाएको मनहरी गाउँपालिका–२ भिमानमा तत्कालिन माओवादीका १९ जना मारिएको स्थानमा पुगेर जनयुद्ध दिवसको अबसरमा श्रद्धाञ्जली व्यक्त गरिएको छ । नेकपा मकवानपुरकी सहइञ्चार्ज एवम् प्रदेश सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यता कार्यक्रम भएको छ ।

कार्यक्रममा नेकपा मकवानपुरका नेता तथा पुर्व संविधानसभा सदस्य राजाराम स्याङतान, प्रदेश सांसद ओम बहादुर ग्लान, नेकपा मकवानपुरका नेता बद्री लम्साललगायतले जनयुद्धको स्मरण गर्दै मृतकहरुलाई श्रद्धाञ्जली व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*