प्रधानमन्त्री केपी ओली ‘आउँछु’ भनेर यसवर्ष पनि ‘जनयुद्ध दिवस’मा गएनन्
हेटौंडा, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय घुम्बाराहीमा आयोजित ‘जनयुद्ध’ दिवसको कार्यक्रममा सहभागी भएका छैनन्।
धुम्बाराहीमा ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओली आउने सूचना पार्टी कार्यालयबाट जारी भए पनि बिहीबार प्रधानमन्त्री उपस्थित भएनन्।
केही दिनअघि ओली स्वयमले जनयुद्धको कार्यक्रममा आफू सहभागी हुन इच्छुक रहेको बताएका थिए । गत वर्ष फागुन १ मा पनि प्रधानमन्त्री ओली ‘जनयुद्ध’ दिवसका कार्यक्रममा सहभागी भएका थिएनन्।
माघ २७ गते केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले सूचना निकालेर प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको उपस्थितिमा जनआन्दोलन तथा ‘जनयुद्ध’का सहिदहरूको स्मृतिमा पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा गर्ने उल्लेख गरिएको थियो।
कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
