गिरिजाले जनयुद्धका बेला सदरमुकाम हान्नुपर्यो भन्नुहुन्थ्योः प्रचण्ड
काठमाडौं, १ फागुन । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूला आक्रमण गर्न सुझाएको खुलासा गरेका छन् ।
तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्ध दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जलीसभामा दाहालले जनआन्दोलन र जनयुद्ध सँगै चलेको समयमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति कोइरालाले आक्रमण बढाउन आग्रह गरेको कुरा स्मरण गराएका हुन् ।
‘दिवंगत गिरिजाप्रसाद कोइराला र मेरो बीचमा दिनदिनै जस्तो कुरा हुन्थ्यो र उहाँले मलाई ठूला आक्रमण बढाउनु पर्यो भन्नुहुन्थ्यो । फौजी आक्रमण अलि बढाइदिनुपर्यो,’ उनले सम्झे, ‘सदरमुकाम हान्नुपर्यो भन्नुहुन्थ्यो, यो बडो विचित्रको कुरा हुन्थ्यो।’ अध्यक्ष दाहालले दलहरुबीचको विचित्रको संयोगले राजतन्त्र अवसान गर्ने वातावरण बनेको र देश संघीय गणतन्त्रमा आउन सफल भएको बताए।
अध्यक्ष दाहालले तत्कालीन एमाले र माओवादीबीच संविधान निर्माणतर्फ जाने भन्ने सहमतिकै जगमा कांग्रेससँग पनि मिल्न पुगेकी बताए। देशमा एकातिर जनयुद्ध र अर्कोतिर शान्तिपूर्ण जनआन्दोलन तत्कालीन ७ राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी)को समझदारीमा भएको दाहालको भनाइ थियो। दलहरुबीचका फरक किसिमबाट बनेको एकताले देशमा संविधान निर्माण र संघीयता आएको उनले बताए।
कार्यक्रममा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् । कार्यक्रममा नेकपा उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत नेताहरु तथा कार्यकर्ताहरुको उपस्थिति थियो।
