‘प्रदेश सरकार दौडन खोजे पनि ब्रेक लागिरहन्छ’– मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७६ माघ २८, मंगलवार १९:०८

हेटौंडा, २८ माघ । बागमती प्रदेश सरकारले कामको गतिलाई दौडाउन खोजे पनि ब्रेक लागिरहेको भन्दै मुख्यमन्त्री डोरमणि पौडेलले चिन्ता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पौडेलले सरकारले सोचेअनुरुप काम गर्न नसकेको बताएका छन् । हेटौंडामा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं वार्षिकोत्सव कार्यक्रमलाई संबोधन गर्दै उनले सरकार दौडन खोजे पनि ब्रेक लागिरहेको गुनासो गरे । उनले यसमा कसैको दोष नभएर सरकारकै काम गर्ने शैलीको कारण भएको बताए ।

प्रदेश सरकारले आन्तरिक तथा विभिन्न समस्याका कारण सोचेअनुसार प्रगति गर्न नसकिएको उनको भनाई थियो । मुख्यमन्त्री पौडेलले देशमा व्यवस्था परिवर्तन भएपनि काम गर्ने शैलीमा परिवर्तन नहुँदा लक्ष्य अनुसारको प्रगति गर्न नसकिएको स्वीकार गरे ।

‘सरकारको काम गर्न नसकेकोमा कसैलाई दोष दिन खोजेको होइन । पुराना थितिलाई बदलेर नयाँदिशामा अघि बढ्न खोज्दा एकैचोटी सम्भव हुँदो रहेनछ,’ पौडेलले भने । स्थानीय तह अधिकार सम्पन्न भएता पनि आफ्नो ठाउँबाट प्रयाप्त काम गर्न नसकेको पौडेलको आरोप छ ।

मुख्यमन्त्री पौडेलले काम नगर्ने कर्मचारीका लागि अख्तियार ठुलो हतियार भएको बताएका छन् । जिम्मेवार कर्मचारीले आफ्नो दायित्व पुरा नगरेको अवस्थामा पनि भ्रष्टाचार गरेको हुने उनको भनाई थियो ।

उनले अख्तियारमा उजुरी गर्दा विकास निर्माण प्रभावित हुने गरेको भन्दै चिन्ता व्यक्त गरे । भ्रष्टाचारलाई न्यूनीकरण गर्न सबैले आफ्नो दायित्व पुरा गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा अख्तियार हेटौंडाका प्रमुख शिवकुमार कार्कीले कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*