हेटौंडा–कुलेखानी–काठमाडौं सडकखण्ड ‘तत्काल स्तरीकरण’

तु खबर संवाददाता
२०७६ माघ २७, सोमबार १८:५६

हेटौंडा, २७ माघ । बागमती प्रदेश सरकारले हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्गलाई तत्काल स्तरीकरण गर्ने जानकारी दिएको छ ।

आज सोमबार बसेको बागमती प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट जवाफ दिँदै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले हेटौंडा–कुलेखानी–काठमाडौं जोड्ने छोटो मार्ग तत्काल स्तरीकरण हुने जनाएका छन् ।

प्रदेशसभाको केही दिनअघि बसेको बैठकमा सदस्यहरुले उठाएका राष्ट्रिय सरोकारको विषयमा जवाफ दिँदै मन्त्री जम्मकट्टेलले काठमाडौंको बल्खुबाट हेटौंडा जोड्ने कुलेखानी सडकखण्डलाई तत्काल निर्माण गर्न प्राविधिक तयारी सुरु गरिएको जनाएका हुन् ।

पुस अन्तिम साता भएको प्रदेशसभा बैठकमा अधिकांश प्रदेशसभा सदस्यहरुले हेटौंडा आउने सडकखण्ड खतरा भएको भन्दै प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका थिए । यसअघि काभ्रेका प्रदेश सांसद चन्द्र लामाले हेटौंडा आउँदा सडकको अवस्था देखेर आफूलाई यात्रा गर्न डर लाग्ने बताएका थिए ।

मन्त्री जम्मकट्टेलले प्रदेशको यातायात क्षेत्रको विकास र सुदृढीकरणको लागि प्रदेश सरकारले अनुगमन गर्न टोली पठाएको बताए । मुख्यमन्त्री पौडेलले यसअघि पटक–पटक हेटौंडा जोड्ने सबै सडकखण्डलाई स्तरीकरण गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*