तरूण दलको नाराः कठै अख्तियार, नेकपासामु लम्पसार
काठमाडौं, २६ माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले आफ्ना उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाएको भन्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दलले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।
तरूण दल अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा आइतबार अख्तियार र प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा नेविसंघ अध्यक्ष राजीव ढुंगाना पनि सहभागी छन्।
‘दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो। विभेद गर्न पाइँदैन, कठपुतली अख्तियार चाहिँदैन। नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार, कठै अख्तियार नेकपासामु लम्पसार’जस्ता नारा लगाउँदै तरूण दलले प्रदर्शन गरेका हुन्।
ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको भन्दै अख्तियारले गच्छदारविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि कांग्रेसले सदन र सडकबाट विरोध गरिरहेको छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने बयान दिएको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दर्ता गरेको थिएन। पौडेलले जग्गा सरकारलाई फिर्ता गरिसकेका छन्।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका गच्छदारलाई मुद्दा लगाउने तर नेपाललाई मुद्दा नलगाउने अख्तियारको कदम कांग्रेसले विभेदपूर्ण भन्दै विरोध गरिरहेको छ। यो समाचार सेतोपाटीमा छ ।
