‘प्रदर्शनकारीमाथि सन्की युवकले चलाए गोली, दिल्ली प्रहरी हेरिरह्यो’
नयाँदिल्ली– नागरिकता संशोधन कानुन (सीएए) र राष्ट्रिय नागरिकता रजिस्टर (एनआरसी) को विरोधमा दिल्लीमा उत्रिएका प्रदर्शनकारीमाथि एक सन्की युवकले गोली चलाएका छन् ।
बिहीबार दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयदेखि राजघाटसम्म निकालिएको र्यालीलाई ताकेर ती युवकले गोली चलाएका हुन्। प्रहरीले ती युवकलाई पक्राउ गरिसकेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार ती युवकले प्रहरीसँग आफ्नो नाम गोपाल भएको बताएका छन्। साथै उनले आफू ‘रामभक्त’ भएको बताएका छन्। गोली प्रहारबाट जामिया मिलिया विश्वविद्यालयकी एक विद्यार्थी घाइते भएकी छिन्।
ठूलो मात्रामा सुरक्षाकर्मीको तैनाथीका बाबजुद यो घटना घटेको हो। आफ्नै अगाडि खुल्लमखुला एक सन्कि युवकले गोली चलाउँदा पनि प्रहरी मूकदर्शक बनेको भिडियोमा देखिन्छ।
प्रत्ययक्षदर्शीका अनुसार ती युवकले ‘वन्दे मातरम’, ‘भारत माताकी जय’ र ‘दिल्ली पुलिस जिन्दाबाद’ नारा लगाउँदै प्रदर्शनकारीमाथि गोली चलाएका थिए।
प्रहरीले ती युवक को हुन् भन्नेबारेमा अनुसन्धान गरिरहेको बताएको छ।
भारतका विभिन्न ठाउँमा केही महिनादेखि सीएए र एनआरसीको विरोधमा लगातार विरोध प्रदर्शन भइरहेको छ। दिल्ली विधानसभा चुनावको केही दिनअगाडि मात्रै यस्तो घटना घट्नुलाई निकै महत्वका साथ हेरिएको छ।
