कांग्रेसमा पौडेल र सिटौला पक्षको बहिष्कारबीच महाधिवेशन घोषणा: निर्णय नसच्याए विद्रोह हुने चेतावनी
नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षको बहिष्कारबीच कांग्रेस केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशनको मिति घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाले गुटलाई प्राथमिकतामा राखेर निर्णय गरेको भन्दै इतरपक्षले गम्भीर आपत्ति जनाएको छ । निर्णय नसच्याए पार्टीभित्र विद्रोह हुने चेतावनी पौडेल–सिटौला पक्षको छ ।संस्थापन पक्ष मात्र उपस्थित बैठकले ७–१० फागुन ०७७ मा १४औँ महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
वर्तमान कार्यसमितिको चारवर्षे म्याद आगामी १९ फागुनमा सकिने भए पनि विशेष अवस्था देखाउँदै पार्टीका सबै तहको म्याद एक वर्ष थप गर्दै कांग्रेसले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिकाअनुसार पुसभर बाँकी तहका संरचनाको समायोजन सकेर माघदेखि क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने निर्णय कांग्रेसको छ । ९ मंसिर ०७७ मा वडा तह, ११ मा गाउँपालिका र नगरपालिका, १५ मा ३३० प्रदेश क्षेत्र, १७ गते १६५ क्षेत्रीय समिति, २५ गते ७७ जिल्ला र १५ पुसमा सातवटा प्रदेशको अधिवेशन गर्ने निर्णय कांग्रेसले गरेको छ ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गरिसक्ने अवधि ०७६ माघदेखि ०७७ वैशाख मसान्तसम्म तोकिएको छ । त्यसपछि जिल्लाले सदस्यताको सूची केन्द्रमा पठाउन १ जेठ ०७७ देखि १५ असारसम्म, जिल्लास्तरमा प्रारम्भिक छानबिन र केन्द्रीय छानबिन समितिमा उजुरी दिने १६ देखि असार मसान्तसम्मको समय तोकिएको छ । सदस्यताको अन्तिम सूचीको समय ०७७ असोज मसान्तसम्म तोकिएको छ ।
आजको नयाँ पत्रिकामा समाचार छ ।
