२५ किलो लागूऔषध चरेससहित भीमफेदीबाट दुई जना पक्राउ

मकवानपुर, १६ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. २ स्थित भैंसेबाट प्रहरीले लागूऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी सिसुवा ग्राम वडा नं. २ बस्ने २५ वर्षीय राजेश यादव र मोग्लेसपुर बस्ने १८ वर्षीय ऋषि कुमार यादव रहेका छन् ।
उनीहरुलाई लागूऔषध चरेश २५ किलोसहित प्रहरी चौकी भैसेबाट प्रहरी नायब निरीक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटिएको चेकिङ् टोलीले आईतबार दिउँसो पक्राउ गरेको हो ।
पालुङबाट हेटौँडातर्फ आउँदै गरेको बा २५ प ८७८३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिट, ट्याङकी मुनी फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिणामको लागूऔषध चरेश फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले निजहरूले प्रयोग गरेको मोटरसाइकलसमेत नियन्त्रणमा लिई द्दटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।