नियन्त्रित लागूऔषधसहित हेटौँडाबाट एक जना पक्राउ

मकवानपुर, २९ असोज । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १० बसपार्कबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा घर भई हाल हेटौंडा उपमहानगरपालिका–१ स्वर्गलोक डेरा गरी बस्ने ३५ वर्षीय फारुक मिया अंसारी रहेका छन् ।
उनलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ३ सय ट्याबलेट र वानरेक्स १ सय एमएलको १ बोतलसहित प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पक्राउ गरेको हो ।
वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ख ०११८ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।