भारतमा नक्कली मदिरा सेवन गरेर १७ जनाको मृत्यु, ४० जना घाइते
भारत १५ जेठ । भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु भएका छन् भने ४० जना घाइते भएका छन् ।
उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो ।
घाइते सबैको उपचार भइरहेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन गरेका कारण ६ जनाको मृत्यु भएको जनाएका थिए । आज सो सङ्ख्या बढेर १७ पुगेको एक प्रहरी अधिकारीहरुले जानकारी दिए ।
सन् २०११ को डिसेम्बरमा पनि पश्चिम बङ्गालमा नक्कली मदिरा सेवनका कारण एक सय ७२ जनाको ज्यान गएको थियो ।
