हेटौँडामा असोज २७ गते चङ्गा चेट प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७५ आश्विन १७, बुधबार १२:०१

हेटौंडा, १७ असोज । हिन्दुहरुको महानपर्व बडादशैंको सन्दर्भ पारेर हेटौँडामा यही असोज २७ गते चङ्गा चेट प्रतियोगिता हुने भएको छ । जीवन कल्याण तथा सहजीकरण संस्था हेटौंडा–४ को आयोजनामा नगद पुरस्कारसहित चङ्गा चेट प्रतियोगिता हुन लागेको हो ।

हेटौंडा–१, जरुवाटोलमा अवस्थित खुला मैदानमा हुने प्रतियोगितामा करिब ६५ जनाले सहभागिता जनाउने अनुमान आयोजकले गरेको छ । ‘संस्कृतिको जगेर्ना गर्ने र प्रतियोगिताबाट बचेको रकम हाम्रो संस्थाको उद्देश्य प्राप्तिका लागि खर्चेने गरी कार्यक्रम आयोजना गरिएको हो’, आयोजक संस्थाका अध्यक्ष रविन्द्र शाहीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको विजेताले नगद दशहजार रुपियाँसहित ट्रफि प्राप्त गर्नेछ । द्वितीय र तृतीयलाई नगद पाँचहजार र दुईहजार पाँचसय रुपियाँ, आकर्षक चङ्गा र उत्कृष्ट उडान भर्नेलाई समेत ट्रफिको व्यवस्था गरिएको शाहीले बताए ।

प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क एकहजार रुपियाँ तोकिएको छ । सहभागी सवैलाई चङ्गा, लटाई र टी–सर्ट प्रदान गरिनेछ । धागो भने सहभागी स्वयमले ल्याउनुपर्ने बताइएको छ । २०७० सालमा स्थापना भएको संस्थाले हेटौंडाको श्रमिक मावि, ज्ञानदा मावि, बाराही आधारभूत विद्यालय लालझाडी, सिद्धार्थ उमावि, सरस्वती निमावि मक्राञ्चुलीमा २१ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्दै आइरहेको छ । छात्रबृत्ति प्रदान गर्नका लागि बार्षिक करिब एक लाख १५ हजार रुपियाँ खर्च हुने गरेको शाहीले जानकारी दिए ।

‘प्रतियोगिताबाट संकलन हुने रकमले हामीलाई छात्रबृत्ति वितरणमा समेत टेवा पुग्ने विश्वास लिएका छौं ।’, उनले खेलका लागि प्रायोजक तथा सहयोगी दाताहरु खोज्ने काम भइरहेको बताए ।