भुटानविरुद्ध भिड्दै नेपाल

तु खबर संवाददाता
२०७५ भाद्र २१, बिहीबार १०:५८

काठमाडौं २१ भदौ । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दै छ । सेमिफाइनल सम्भावनालाई कायमै राख्नका लागि जित्नैपर्ने दबाबमा नेपाल समूह एको दोस्रो खेलमा भुटानविरुद्ध मैदानमा उत्रँदै छ । पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएपछि नेपाल दबाबमा परेको हो ।

हारले बाहिर

प्रतियोगिताको अघिल्लो चरण सम्भावना जीवित राख्न नेपालले जित निकाल्नुपर्छ । हारले नेपाल बाहिरिनेछ । बराबरीले गणितीय सम्भावना मात्र बाँकी रहनेछ । नेपालका लागि भुटान तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी हो । नेपाल पहिलो खेलमै पाकिस्तानसँग पराजित भएसँगै अघिल्लो चरण सम्भावनामा धक्का पुगेको छ ।

अहिलेसम्म निरन्तर जित

नेपालले अहिलेसम्म भुटानसँग हारको सामना गरेको छैन । नेपालसामु भुटानविरुद्धको खेल प्रतियोगितामा टिकाइराख्न मात्र नभएर प्रतिष्ठा जोगाउन पनि जित्नुपर्ने दबाब छ । सन् ००३ मा भुटानमाथि २–० को जित निकालेको नेपालले २००५ मा ३–१ ले हराएको थियो । पछिल्ला समय भुटानले आफूलाई परिष्कृत गर्दै लगेको छ ।

अब राम्रो गर्नुको विकल्प छैन

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले जित निकाल्नुको विकल्प नभएको बताए । उनले भने, ‘पाकिस्तानविरुद्ध के भएको थियो भन्ने कुराले अब अर्थ राख्दैन । त्यो सोचेर केही हुनेवाला छैन ।

अबका दुई खेलका विषयमा सोच्नुपर्ने समय आएको छ । पहिलो लक्ष्य भुटानलाई हराउनु हुनेछ ।’ उनले भुटानविरुद्धको खेलमा अघिल्लो खेलको कमजोरीलाई सुधार गर्दै नतिजा निकाल्नुपर्ने चुनौती रहेको बताए ।

त्यस्तै, भुटानका प्रशिक्षक ट्रिभोर मोर्गानको लक्ष्य पनि नेपाललाई पराजित गर्दै अघिल्लो चरण सम्भावना कायमै राख्नु हुनेछ । मोर्गनले बंगलादेशविरुद्धको भुटानको खेललाई राम्रो मानेका छन् । उनी भन्छन्, ‘बंगलादेशविरुद्ध हामीले जसरी खेल्यौँ, त्यसलाई निकै राम्रो मान्छु ।’

आजको नयाँ पत्रिका ले समाचार लेखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*