नेकपा मकवानपुरको सचिव तत्कालिन माओवादी केन्द्रबाट हुने, को को छन् आकाँक्षी ?
मकवानपुर २७ साउन । नेकपा मकवानपुरको सचिवमा तत्कालिन नेकपा माओवादीबाट नेतृत्व गर्ने नेकपाको आन्तरीक छलफल भए अनुसार माओवादी केन्द्रको कार्यदल बैठक हिजो शनिबार बसेको छ । बैठकमा कुनै ठोस निणर्य नभएपनि सचिव पदका लागि ३ जनाको विषयमा आन्तरीक छलफल भएको बैठकमा सम्मिलित एक नेताले तु खबरलाई जानकारी दिए ।
बैठकमा क्रमश तत्कालिन माओवादी केन्द्रका प्रकाश पाण्डे (प्रलोक), कमान सिं पाख्रिन (पृथक), र बलराम बल मध्ये १ जना हुनेगरी छलफल अघि बढाईएको स्रोतले बतायो ।
पार्टीमा योगदान गरेको आधारमा आफुलाई नेतृत्व दिनुपर्ने प्रकाश पाण्डेले आफ्नो धारणा राखेका छन् । त्यसैगरी कमान सिं पाख्रीन सधैं पछि परेको कारण आफु नेतृत्वमा जान पाउनुपर्ने बताउँछन् । त्यसैगरी बलराम बल भने आफुलाई सर्वसम्मत दिए नेतृत्व गर्ने धारणा राख्छन् ।
बैठकका विषयमा तत्कालिन माओवादी केन्द्र मकवानपुरका अध्यक्ष एवं साँसद् प्रेम बहादुर पुलामीले भोलि पुन बैठक बस्नेगरी हिजोको बैठक स्थगित गरेको बताए । उनले बैठकमा ठोस निणर्य भने भई नसकेको बताए ।
