उपचार अभावमा रुकुमका विकको मृत्यु
जाजरकोट २४ साउन । उपचारका अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकको उपचार अभावमा मृत्यु भएको हो । दमको समस्या भएकाले रुकुमको चौरजहारी अस्पताल उपचार गराउन आएका विकले उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको हो ।
पाँच दिनदेखि चौरजहारी अस्पताल तनावग्रस्त हुँदा सामान्य तथा जटिल समस्या भएका बिरामी उपचार सेवाबाट वञ्चित छन् । गत आइतबार जाजरकोट कुदुकी एक महिलाको रुकुमको विजेश्वरीस्थित चौरजहारी अस्पतालमा उपचारका क्रममा अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै पीडित पक्षले शव बुझ्न मानेको छैन ।
मिर्गौलामा भएको पत्थरीको उपचार गर्न अस्पताल गएकी भेरी नगरपालिका १३ कुदुकी २८ वर्षीया यशुदा मल्ल आरसीको गलत सुईको प्रयोगले मृत्यु भएको भन्दै पीडित पक्षले उचित क्षतिपूर्ति र राहतको माग गरिरहेको छ । उनको शव पाँच दिनदेखि अस्पतालमै छ ।
