‘शत्रु गते’ को क्लाइमेक्स बबाल, पल र आँचलको बिहे हुन नदिन यत्रो चलखेल

तु खबर संवाददाता
२०७४ चैत्र १२, सोमबार १३:४७

-चन्द्र घलान
मकवानपुर, १२ चैत ।
पछिल्लो केही वर्ष यता नेपाली चलचित्रहरुले हिन्दी चलचित्रले ओगटे नेपाली चलचित्र बजारमाथि एक छत्र राज गर्न सुरु गरेको अभाष दर्शकहरुले गर्न थालेका छन् । यसको निरन्तरता स्वरुप गएको शुक्रबारदेखि रिलिज भएको नेपाली कथानक चलचित्र ‘शत्रु गते’ले समेत हलमा तहल्का मच्चाएको छ ।

‘शत्रु गते’ चलचित्रको क्रेज बुझ्नका लागि तु खबर टोली समेत हेटौँडामा रहेको हलसम्म पुगेको थियो । चर्चित रोमान्टिक अनस्क्रिन जोडी पल शाह र आँचल शर्मा सहित मह जोडी र नेपाली चलचित्रमा दरिलो उपस्थिति देखाउँदै आएको कलाकारको जम्बो टोली अभिनित चलचित्र सुरु हुने बित्तिकै हलमा सिट्टी बजाउने र ताली पिट्ने दर्शकको घुँईचो देखियो ।

चलचित्र अवधिभर केही भावुक दृश्यहरुबाहेक अन्य दृश्यमा दर्शकहरु उफ्री–उफ्री पेट मिचेर हाँसिरहेका देखिन्थे । विशुद्ध मनोरञ्जनले भरिएको चलचित्रमा युट्युब जस्ता सामाजिक भिडियो सेयरिङ वेबसाईटका कारण मानव जिवनमा ल्याईदिने उथलपुथललाई समेत कलात्मक तरिकाले देखाइएको छ ।

यस अघि नै सुपरहिट भइसकेको चलचित्रको गीतहरुले चलचित्रलाई अझ बढी चर्चामा ल्याएको छ । चलचित्र अवधिभर पल र आँचलको विवाह हुन नदिन लागिपर्ने पात्रका साथै पल–आँचल तथा दिपक–प्रियंकाबिचको प्रेमले पनि चलचित्रलाई हराभरा बनाईदिएको छ । साथै महजोडी र अन्य कलाकारहरुको दमदार अभिनयले चलचित्र हेर्ने दर्शकलाई रोमाञ्चक अनुभूति दिलाउँछ ।

सुन्दर ब्याकग्राण्ड स्कोर र मनै जुरुक्क पारिदिने क्लाईमेक्सका कारण चलचित्रले दर्शकको ठूलो टोलीलाई हलसम्म तान्ने पक्का देखिएको छ । चलचित्रका गहकिला संवादले चलचित्रलाई अझ उचाईमा पुराएको छ । चलचित्रमा सन्देश खोज्ने भन्दा पनि चलचित्रलाई मनोरञ्जनका रुपमा बुझ्ने दर्शकका लागि यो हेर्नै पर्ने चलचित्र बनेको छ ।

चलचित्रमा पल र आँचलसहित मह जोडी, प्रियंका कार्की, दिपाश्री निरौला, दिपकराज गिरि, सुस्मा कार्की, शिवहरी पौडेल, किरन केसी लगायतको अभिनय रहेको छ । चलचित्र लाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ ।

पटकथालाई निर्देशक प्रदिप भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका छन् । चलचित्रमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*