राजनीतिक अनिश्चितताबीच नेप्से तेस्रो दिन पनि उकालो, कारोबार रकम भने सुस्त

तु खबर संवाददाता
२०८२ फाल्गुन १३, बुधबार १५:१९

काठमाडौँ । राजनीतिक अनिश्चितता र नीतिगत स्पष्टताको अभावका बीच पनि शेयर बजारले लगातार तेस्रो दिन सुधार देखाएको छ । पछिल्लो समय बजारमा क्रमिक सुधारका संकेत देखिँदै जाँदा लगानीकर्तामा सानो आशावाद बढेको छ । तर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कुनै दलले स्पष्ट बहुमत ल्याउने सम्भावना कमजोर देखिएकाले निर्वाचनपछिको नीतिगत दिशाबारे अनिश्चितता कायमै छ । यसले बजारमा सतर्कता र उतारचढावलाई निरन्तरता दिएको छ ।

बजारमा साना नाफा बुकिङको प्रभाव पनि देखिएको छ, जसले शेयर मूल्यमा दबाब सिर्जना गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउने संकेत गरेका छन् भने नियामक निकायले पुँजी बजारप्रति सकारात्मक र उदार नीति ल्याउने प्रयास गरिरहेका छन् । यस्ता पहलहरूले दीर्घकालीन रूपमा बजारमा स्थायित्व र सुधार ल्याउने अपेक्षा गरिए पनि त्यसको स्पष्ट प्रभाव हालसम्म देखिएको छैन । लगानीकर्ताहरू अहिले आगामी नीति स्पष्टता र चुनावी नतिजाको प्रतिक्षामा रहेका छन् ।

यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.३० अंकले बढेर २६४८.९० बिन्दुमा कायम भएको छ । कुल ३३३ कम्पनीका १ करोड ४ लाख ५६ हजार कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

१० उपसूचकमा हरियाली देखिएको यस दिन जीवन बीमा समूहको शेयर मूल्य सर्वाधिक १.७९ प्रतिशतले बढेको छ । यद्यपि बजार बढे पनि कारोबार रकम भने अझै सुस्त नै रहेको छ ।

बुधबार आखुखोला जलविद्युतको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको २८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । त्यसैगरी न्यादी ग्रुप, एसवाई प्यानल, रिडि पावर र बन्दिपुर केवलकारका शेयरहरू पनि उच्च कारोबार हुने सूचीमा रहेका छन् ।

समग्रमा, बजारमा सुधारको संकेत देखिए पनि छोटो अवधिमा राजनीतिक अवस्था र नीतिगत अनिश्चितताका कारण उतारचढाव कायम रहने देखिन्छ । लगानीकर्ताहरू आगामी दिनमा बजारको स्पष्ट दिशाको खोजीमा सावधानीका साथ प्रतिक्षा गरिरहेका छन् ।