सुनको मूल्यमा कीर्तिमान, प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउने क्रम जारी छ । आज बिहीबार सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य नेपाली बजारको इतिहासमै सबैभन्दा उच्च हो ।
यसअघि हिजो बुधबार सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
यता, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, लगानीकर्ताको सुरक्षित लगानीतर्फको आकर्षण र बजारको माग-आपूर्तिको असरले नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार उकालो लागेको व्यवसायीहरू बताउँछन् ।
