स्वास्थ्य शिविर, १५ सय भए लाभान्वित

तु खबर संवाददाता
२०७४ फाल्गुन ८, मंगलवार १२:४८

सन्धिखर्क, ८ फागुन । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–९ ढिकुरामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरबाट ढिकुरा, धनचौरसहितका एक हजार ५०० जनाभन्दा बढी बिरामी लाभान्वित भएका छन् । शिविरमा भरतपुर अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा रुद्र मरासिनीसहित २१ जना डाक्टरले एक हजार ५०० बिरामीको जाँच गरेका हुन् ।

भूमिका स्थान नगरपालिका र अर्घाखाँचीको ढिकुराबाट काठमाडौँ, बुटवल बस्नेहरुको आर्थिक सहयोगमा दुई दिने बृहत् शिविर सम्पन्न भएको हो ।

उपचारका लागि अर्घाखाँची जिल्लाको ढिकुरासहित धातिबाग, धारपानी, जुकेना, धन्चौर, खाचीकोट, नुवाकोट, नरपानीलगायतका एक हजार ५०० बिरामीले जाँच गराउनुभएको ढिकुरा समाज अर्घाखाँची काठमाडाँैका अध्यक्ष कृष्ण पोखरेलले जानकारी दिनुभयो ।

गाउँमा निःशुल्क शिविर सञ्चालन गर्दा धेरै बिरामीलाई आफ्नो रोग पत्ता लगाउन र सामान्य रोग निको पार्नका लागि निःशुल्क स्वास्थ्य शिविर निकै प्रभावकारी भएको सेवा लिएका बिरामी सन्तोष भुसालले बताउनुभयो ।

ढिकुरा समाज अर्घाखाँची काठमाडौँको आयोजना र लायन्स क्लब अफ काठमाडौँ ढिकुरा, ढिकुरा अर्घाखाँची रुपन्देही समाजको सहआयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

समाजले गएको वर्ष पनि ढिकुराको शारदा माविमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*